ad ad

राजनीति


प्रचण्डपछि उपाध्यक्ष भुसाल भारत जाँदै, भाजपाले आफ्नो मुख्यालयमा स्वागत गर्ने

प्रचण्डपछि उपाध्यक्ष भुसाल भारत जाँदै, भाजपाले आफ्नो मुख्यालयमा स्वागत गर्ने

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार १८:३३, काठमाडौँ

भारतीय जनता पार्टीले छिमेकी देशका पार्टीहरूसँगको सम्बन्ध विस्तार अभियानलाई अघि बढाएको छ।

भाजपाको स्थापना दिवसका अवसरमा विभिन्न देशका राजदूतहरुसँगको संवादका क्रममा अध्यक्ष जेपी नड्डाले छिमेकी देशका पार्टीहरुलाई मुख्यालय आउने निम्तो दिइएको बताएका छन्। 

बिहीबार मात्रै भाजपाले आफ्नो मुख्यालयमा १२ देशका राजदूतलाई स्वागत गरेको थियो। यस बैठकका भाजपाका सञ्चार विभाग प्रमुख अनिल बलुनी विदेश विभाग प्रमुख विजय चौथाईवाला पनि सहभागी थिए। 

बंगलादेश, इजिप्ट, जर्मनी, ग्रीस, गुआना, लेबनन, मलेसिया, मोजाम्बिक, दक्षिण कोरिया, सुरिनाम, स्विडेन र तान्जानियाका राजदूत बिहीबार भाजपा मुख्यालय पुगे।

करिब दुई घण्टा चलेको उक्त संवादका क्रममा राजदूतहरुले बितेका ९ वर्षमा भाजपाले लिएको उचाई, सदस्यता अभियान, डिजिटल प्रयोग र सफल चुनावी रणनीतिबारे जानकारी लिएका थिए। 

त्यसक्रममा भाजपा अध्यक्ष नड्डाले बंगलादेशको अवामी लिग पार्टी र नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रलाई भारत आउने निम्तो दिएका छन्। 

सम्बन्धित समाचार

तर उनले दुई देशका पार्टीका नेताहरुलाई कहिले बोलाइएको भन्ने खुलाएनन्। समाचार अनुसार आगामी साता नेपालबाट माओवादी नेताहरु दिल्ली जानेछन्। 

स्रोतका अनुसार नेपालबाट माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा एउटा टोली नयाँदिल्ली जानेछ। माओवादी नेताहरुको यो टोलीलाई भाजपा अध्यक्ष जेपी नड्डाले आफ्नो मुख्यालयमा स्वागत गर्नेछन्। 

‘उताबाट निमन्त्रणा पत्र आयो। हामीले जवाफ पठायौँ, तपाईंहरुको निम्तो मान्न हामी आउँछौँ भनेका छौँ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट एक नेताले नेपालखबरसँग भने, ‘तर अरु को को जाने टुंगो लागिसकेको छैन। एक दुई दिनमा भारत जाने नेताहरु र संख्या टुंगो लाग्छ।’

यसअघि जेठ १७ देखि २१ सम्म माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेर फर्किसकेका छन्।

सरकारको तहमा संवाद भएको एक महिना नबित्दै भारतीय सत्तारुढ पार्टीले नेपालका सत्तारुढ पार्टीका नेताहरुसँग संवाद गर्न लागेको हो।

बंगलादेशमा पनि सत्तामा रहेको अवामी लिगका नेताहरु आगामी साता नै दिल्ली पुग्नेछन्। 

अवामी लिग, अफ्रिकन नेशनल कांग्रेस, भारतीय कांग्रेस र नेपालका पार्टीहरु कुनैबेला निकट थिए। अब भाजपाले विगतको यो तस्बिरलाई बदल्ने गरी नेपालका कम्युनिष्टहरुसँग सम्बन्ध बढाउन थालेको हो।

 जब अवामी लिगकी नेता शेख हसिना भारत पुगेकी थिइन्, त्यसबेला उनको सोनिया गान्धीसँग विशेष भेट भएको थियो। त्यसबेला भारतीय कांग्रेसले यसलाई मित्रताको खास बन्धन भनेको थियो।

यता नेपालको कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १ साउन २०७९ मा भाजपा मुख्याल पुगेका थिए। भाजपा अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि दिल्ली पुग्दा प्रचण्ड भाजपा मुख्यालय पुगेका थिए। 

त्यहीँ उनको भाजपा अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता भएको थियो। तर त्यसबेला उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएका थिएनन्।

त्यसपछि तेस्रो पटक प्रधानमन्त्री बनेर प्रचण्ड गत जेठ १७ गतेदेखि ४ दिने भ्रमण गरेर फर्किसकेका छन्। 

त्यसअघि २०७८ चैत १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पनि नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पुगेका थिए। 

त्यसबेला तीन दिने भारत भ्रमणका लागि पुगेका उनी भाजपा मुख्यालयमा पुग्दा आलोचना भएको थियो। भाजपासँग नेपाली कांग्रेसको सम्बन्ध विस्तारका लागि देउवा त्यहाँ पुगेका थिए। 

देउवालाई भाजपा अध्यक्ष जेपी नड्डासहितका नेताहरुले कार्यालयमा स्वागत गरेका थिए। भाजपा मुख्यालयमा नड्डासहित पार्टीका विभिन्न नेता पनि सहभागी थिए। 

विगतमा भाजपा प्रतिनिधिमण्डलले चीनको पनि भ्रमण गरेको थियो। यसका अलावा, सिंगापुर जस्ता देशका दलसँग पनि भाजपाले संवाद गरिसकेको छ।

पछिल्ला केही महिनायता भाजपाले रूस, दक्षिण अफ्रिका, नेदरल्यान्ड, मेक्सिको, कोलम्बिया, इथियोपिया, कम्बोडिया, मालदिभ्स र मालीका राजनीतिक दलका प्रतिनिधिमण्डललाई भारतमा स्वागत गरिसकेको छ।

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले यो प्रयासले छिमेकीमाझ भारतको स्थितिलाई अझै बलियो बनाउन सहयोग पुर्‍याउने बताएका छन्।

यो अभियानका कारण छिमेकीमा भारतको राजनीतिक सम्बन्धलाई अझै विस्तार गर्दै लाने पनि उनले बताए। 

'तपाईंको भाजपालाई जान्नुस्' अभियानमार्फत पछिल्ला दुई वर्षका क्रममा ६८ देशका राजदूतसँग अध्यक्ष नड्डाले संवाद गरिसकेका छन्।

भारतले घोषणा गरेको कूटनीतिक प्रयास वर्ष २०२४ मा भाजपाको प्रचार अभियान एक अहम हिस्साका रुपमा रहेको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .