सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन्।
शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।
‘गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजीनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ’, उनले अगाडि भनिन्।
कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गरिनु दुःखद् भएको उनले बताइन्।
मन्त्री शर्माले मिटरब्याज पीडितलाई न्याय दिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्नसमेत आग्रह गरिन्।
‘प्रतिपक्षले संसद अवरोध गरेर अध्यादेश निष्क्रिय पारे पनि मिटर व्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ’, उनले भनिन्, ‘विगतका नजिर र अभ्यासका आधारमा प्रतिस्थापन विधेयकमार्फत पीडितलाई न्याय दिन्छौँ।’
सरकारले सुरुदेखि नै जनताको सुशासन, भ्रष्टाचारविरुद्ध सरकार कडाईका साथ प्रस्तुत भएको मन्त्री शर्माले बताइन्।
उनले सरकारका कदमबाट कसैको टाउको दुखेकोसमेत बताइन्।
‘सरकार सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाईका साथ प्रस्तुत भएको छ। नागरिकताविहीनहरुले नागरिकता पाइरहेका छन्’, उनले भनिन्, ‘निजामती सेवा ऐन पनि अगाडि बढ्दैछ। सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताको साथ लागेको छ। यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा देखिन थालेको छ।’
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सक्कली नेपाललाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहीँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने बताइन्।
Shares
प्रतिक्रिया