ad ad

राजनीति


घोषणा भएको १८ दिनपछि समाजवादी मोर्चाको पहिलो बैठक

संसद्‍मा प्रतिपक्षीको घेराबन्दीविरुद्ध बन्न सक्छ रणनीति
घोषणा भएको १८ दिनपछि समाजवादी मोर्चाको पहिलो बैठक

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८० शुक्रबार १९:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्र नेतृत्वको चार दलीय समाजवादी मोर्चाको बैठक बल्ल बस्ने भएको छ।

विभिन्न ३ बुँदे सहमति पत्रसहित गत असार ४ गते घोषणा भएको समाजवादी मोर्चाको बैठक शनिबार बस्ने भएको हो।

मोर्चाको पहिलो बैठक माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार अपरान्ह ४ बजे बस्ने भएको हो। 

समाजवादी मोर्चा घोषणा गरिसकेपछि यसका शीर्ष नेताहरुबीच पनि छलफल भएको थिएन।

मोर्चा घोषणालगत्तै माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि नेकपामै फर्किनु पर्ने भन्दै कम्युनिष्ट एकताको कुरा झिकेका थिए।

यही सोमबार प्रधानमन्त्री पदलाई भारतसँग जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुबाट प्रचण्ड घेरिएका छन्।

एमालेले उनको राजीनामा नै मागेको छ। यही विवादका कारण शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी दुई दिनलाई स्थगित भएको छ।

अर्कातिर राष्ट्रियसभाको बैठक पनि केही बेर बसेपछि एमालेको अवरोधका कारण स्थगित भएको छ। 

प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षीको घेराबन्दीमा परिरहेको सन्दर्भमा नयाँ रणनीति निर्माण तथा समाजवादी मोर्चाको सम्भावित योजनालाई लिएर पहिलो बैठक बस्न लागेको हो। 

समाजवादी मोर्चा बनेपछि प्रधानमन्त्री प्रचण्डको पक्षमा प्रतिनिधिसभामा कम्तीमा ५३ सिट देखिएको छ। मोर्चाको तर्फबाट प्रतिपक्षीविरुद्धको सम्भावित रणनीति पनि शनिबारको बैठकले बनाउन सक्ने बताइएको छ।

असार ४ मा घोषित मोर्चाका नेताहरुमा नेकमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव  नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन्। 

उनीहरु चारैजनाले समाजवादी मोर्चाको घोषणापत्रमा हस्ताक्षर गरेका थिए। मोर्चा घोषणा भए पनि यसलाई अघि बढाउने प्रारुप अहिलेसम्म चार दलले बनाउन नसकेको अवस्थामा बैठक बस्न लागेको हो। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .