ad ad

राजनीति


फेरि राजसंस्था पुनर्स्थापनाकै बाटोमा कमल थापा, पुनर्विचार गर्न बनाए समिति

फेरि राजसंस्था पुनर्स्थापनाकै बाटोमा कमल थापा, पुनर्विचार गर्न बनाए समिति

नेपालखबर
असार २४, २०८० आइतबार १८:३, काठमाडौँ

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था पुनर्स्थापनाको पुरानै एजेन्डामा फर्किने तयारी गरेको छ।

राप्रपा नेपालले राजसंस्थासम्बन्धी नीतिबारे पुनर्विचार गर्न आइतबार एक समिति नै बनाएको छ। आइतबार काठमाडौँमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपाध्यक्ष प्रा.डा. विष्णुबहादुर भण्डारीको नेतृत्वमा समिति बनाएको हो। 

राजसंस्थाबारे पुनर्विचारका लागि बनाइएको समितिमा केशवराज श्रेष्ठ, वसन्तमान सिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव र सुनिता कुरुम्बाङ सदस्य छन्।

समितिको सदस्य सचिवमा महासचिव राजाराम बर्तौला छन्। यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेट पाएको छ।

राप्रपा नेपालले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धन गर्न राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल पनि बनाएको छ। परिषद्को अध्यक्षमा प्रा.डा. विष्णुबहादुर भण्डारी चयन भएका छन्। 

भ्रातृसंगठनहरू राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपांग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो. खालिद इकवाल इराकी चयन भएका छन्। 

थापाको यु टर्न
यसअघि अध्यक्ष थापाले राजसंस्थाले आफूलाई धोका दिएको बताउँदै आएका थिए। २०७८ मंसिरमा भएको महाधिवेशनमा आफूलाई हराउन निर्मल निवास लागेको भन्दै उनी रिसाएका थिए। 

तर केही दिनअघी मात्रै थापाले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको बताएका थिए।

उनले केन्द्रीय समिति बैठकमा ब्यक्त धारणा र देशभरका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाबारेको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारेका थिए।

२०७८ मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल बनाएका थिए।

थापाले त्यसपछि २०७८ फागुनमा राजसंस्था पुनर्स्थापनाको एजेण्डा त्यागेको घोषणा गरेका थिए।

थापा त्यसबेला लामो समयदेखि राजसंस्थाको माग गर्दै आएकामध्ये एक नेता थिए। तर राप्रपाको एकता महाधिवेशनमा आफूलाई हराउन पूर्वराजाले नै मुख्य भूमिका खेलेको आरोप लगाउँदै थापाले राप्रपा त्यागेका थिए। 

उनले २०७८ फागुन १८ गते काठमाडौंमा एक कार्यक्रम गरेर राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका थिए। 

राप्रपाको एकता महाधिवेशनमा पराजित भएपछि निर्मल निवासको नाङ्गो हस्तक्षेप गरेको आरोप उनले लगाएका थिए।

लिङ्देनले अध्यक्षको कार्यभार सम्हालिसकेपछि थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन माग गरेका थिए।

तर पार्टीबाट सुनुवाइ नभएको र लिङ्देनले आफूलाई बेवास्ता गरेको गुनासोसहित थापाले राप्रपा नेपाल ब्युँताएका थिए।

थापाले राजसंस्थाप्रति आस्था र सम्मान भए पनि आफ्नो कार्यनीतिमा नरहेको बताएका थिए। त्यसबेला हिन्दु राष्ट्र, सुशासन र समृद्धि पार्टीको मुख्य मान्यता रहेको बताए थिए। 

तर एक वर्षपछि उनी फेरि राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किने बिन्दुमा पुगेका हुन्। 

उनले राजसंस्था पुनर्स्थपानको एजेन्डामा फर्किने गरी कार्यकर्ताको सुझाव आएकाले अब त्यसतर्फ सोच्न सकिने बताएलगत्तै समिति बनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .