ad ad

राजनीति


प्रधानमन्त्रीले संसद्‌मा रोएर ध्यान तान्नुभयो, उहाँको तागत नै त्यही हो : ओली

‘एमालेले अहिले सरकारमा जाने कुनै पनि मनसाय राखेको छैन’
प्रधानमन्त्रीले संसद्‌मा रोएर ध्यान तान्नुभयो, उहाँको तागत नै त्यही हो : ओली

बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली (तस्बिर : बालकोट)


नेपालखबर
असार २६, २०८० मंगलबार १६:९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा गरेको सम्बोधनलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले रोएर ध्यान तान्न खोजेको बताएका छन्। 

‘हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा बोलेका कुरा। केटाकेटीको बल नै रुनेमा हुन्छ,’ ओलीले अघि भने, ‘आमाको ध्यान तान्ने रोएर, अरुको ध्यान तान्ने रोएर। भोक लाग्यो भन्नुपर्‍यो रुने, थकाई लाग्यो भन्नुपर्‍यो रुने। उसको बल नै, तागत नै त्यही हो।’

उनले अहिलेको सरकारको तागत नै झुट बोल्ने रहेको बताए। 

‘बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई। बालकको रोदनमा तागत हुन्छ। विभिन्नको तागत विभिन्न चिजमा हुन्छ। र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ,’ ओलीले भने।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको पनि उनले प्रष्ट पारे। उनले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए। 

ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्‍याए। उनले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए। 

अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए। 

ओलीले बैठकमा के भने?
अहिले सात महिना त सिद्धियो। यो सरकारले के गर्‍यो त? वरतिरको सिन्को यसले परतिर के सार्‍र्यो? केही पनि गरेको छैन राम्रो काम। यसले के गर्‍यो? ढाँट्छ, छक्याउँछ। मिटरब्याजीहरूको सम्बन्धमा ज्येष्ठ २४ गते विधेयक पास गर्न दिएनन भनेर गृहमन्त्री कड्किए। यिनीहरूनै हुन, जसले बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेस गर्छन् पार्लियामेन्टमा। के हेरेर बसे? राष्ट्रियसभामा असार ५ गते पेश गर्छन, बैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक। बैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे? अथवा बिल्कूल उदासिन, लापरबाह र यिनीहरु सामन्तको पक्षमा भएका हुनाले यिनीहरूले त्यो गरेका हुन्। नहोस् भनेर। राष्ट्रियसभाबाट अन्तिम दिन। ६० दिन भित्र भइसक्नुपर्छ। अब ६० औं दिनको अन्तिम दिनमा केही भयो भने पनि संसद रोकिन सक्छ। त्यस्तो बेलामा ल्याए। हामीले भन्यौं–मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ। संसद चलाउने गरी अघि बढौं। प्रधानमन्त्रीले राजीनामा गर्नुस्। अथवा बाटो त निकाल्नु पर्‍यो नि केही। जथाभावी बोल्ने अनि उहाँ मलाई प्रधानमन्त्री बनाउन कति पटक दिल्ली जानु भयो भन्ने? अनि केही पनि होइन भनेर चुप लागेर बस्ने। प्रधानमन्त्री पार्लियामेन्ट पनि आउनु भएन। कसैसँग कुुरा पनि गर्नु भएन। र, झूट प्रशारण गर्नु भयो बोल्न दिएन भनेर, स्पष्टिकरण गर्न दिएन भनेर। कहाँ गर्नु भयो उहाँले स्पष्टिकरण? बल्ल हिजो स्पष्टिकरण दिन्छु भनेपछि हामीले दियौं त। अनि गृहमन्त्री गएर त्यहाँ कसैले रोक्न सक्दैन तपाईंहरुलाई न्याय दिन भन्छन्। बैशाख २४ गतेदेखि असार ५ गतेसम्म अन्तिम घडीपला समेत समाप्त हुने बेलामा त्यो ल्याएर, त्यसलाई फुकाएर जाऊ भन्दा नफुकाएर, अनि कुँदेर माइतीघर मण्डलामा गएर यस देशमा छ नि नारायणकाजी भन्ने महान, बहादुर जन्मेको छ, त्यसले तपाईहरूलाई इन्साफ दिन्छ भनेर फाईफूर्ती लगाउने त्यहाँ? सरकारमा त हामी थिएनौं। बैशाख ५ गतेदेखि असार ५ गतेसम्म के हेरेको? अर्को हिजो संसदमा हेरेको त ६० दिन भित्र सिद्धिसक्छ। त्यो हुनेवाला नै छैन। ६० दिन भित्र अध्यादेश वा त्यसलाई प्रतिस्थापन गर्ने विधेयकको म्याद सिद्धिन्छ। २० गते सिध्याए। प्रचण्डजी एण्ड कम्पनीको ७ गठबन्धन, १० गठबन्धन कतिको गठबन्धन हो। यो गठबन्धनको सरकारको हो। यसलाई असफल पारिसक्यो। हिजो ६० दिन कटेको ५ दिन पछि फेरी विधेयक पारित गरौं भनेर। ६० दिनमा त्यो रद्द भइसक्छ। अर्को विधेयक ल्याउनुपर्छ। यिनीहरूलाई कानुन, संविधानको मतलव होइन। खाली जनता छक्याउने, अनि त्यहाँ त हामीे यो संविधान बमोजिम मिल्दैन भनेर। त्यसो भन्ने वित्तिकै कँुदेर माईतीघर मण्डलामा पुग्ने र एमालेले हुन दिएन भन्ने। यो सबै जनता ठग्ने चाल हो। नत्र भने त्यस्तो विधेयक म्याद सकिएको ५ दिनपछि कसैले ल्याउँछ? २० गते म्याद समाप्त भयो, २५ गते कसैले ल्याउँछ? त्यसकारण यो सबै छलछाम हो। यस्ता तत्वहरु, जो पार्लियामेन्टमा सत्ताधारी दलका सांसदहरु, तालिम गरेर लगिन्छन। सुनको जलहरी चढाएको होइन, पित्तलको हो भनेर भन्न तालिम दिएर लगिन्छन। तालिम कस्ता होलान, बवक्ता कस्ता होलान? कसैले दुनियाँमा त्यस्तो कल्पना गर्न सक्ला? १०८ किलो सुन पशुपतिजस्तो ठाउँमा सुन नचढाएर पित्तल चढायो। यो सद्दे दिमाग भएको मान्छेले बोल्न सक्ला? त्यसवापत् किञ्चित ग्लानी छैन। यस्ता झुट अफवाह फैल्याए वापत लाज, सरम केही पनि छैन। अचम्म लाग्छ। उनीहरूकै कुरा चाँही ठूला छन्। हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा बोलेका कुरा। केटाकेटीको बल नै रुनेमा हुन्छ। आमाको ध्यान तान्ने रोएर, अरुको ध्यान तान्ने रोएर। भोक लाग्यो भन्नुपर्‍यो रुने, थकाई लाग्यो भन्नुपर्‍यो रुने। उसको बल नै, तागत नै त्यही हो। बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई। बालकको रोदनमा तागत हुन्छ। विभिन्नको तागत विभिन्न चिजमा हुन्छ। र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ। र, उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन्। किनभने उस्तैउस्तै मिलेको जस्तो देखिन्छ। त्यसकारण कायम राख्न चाहन्छन्। हामीले भनेका छौं–हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौं। त्यतातिर सोचेका पनि छैनौं। हामी ग्रासरुटमा लाग्यौं। अब मिशन २०८४, मिशन ५१ पर्सेन्ट। यतापट्टि हामी लागेका छौं। हामीलाई सरकारतिर हेर्ने, यो सरकारको दैनिक किचलो, सरकार बनाउने, त्यसलाई जोगाउने, त्यसलाई कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, उ खोज्यो, जेलबाट छुटाएर चार वटा भोट लियो। यता खेल्यो, उता खेल्यो। यसखालको कुनै परिणाम ननिस्कने खेल वैयक्तिक ज्यान बनाउनु छ भने ठिकै हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .