ad ad

राजनीति


आर्यघाटमा एकै ठाउँ बस्दा असहज देखिए केपी ओली र माधव नेपाल (तस्बिरहरू)

आर्यघाटमा एकै ठाउँ बस्दा असहज देखिए केपी ओली र माधव नेपाल (तस्बिरहरू)

सीताको बिदाइ हुँदै गर्दा एकै ठाउँ देखिएका केपी ओली र माधव नेपाल। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २७, २०८० बुधबार १७:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको अन्तिम बिदाइका लागि बुधबार दिउँसो सर्वसाधारणदेखि नेतासम्म ठूलो भिड आर्यघाटमा लाग्यो।

थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान निधन भएपछि सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो।

त्यहाँबाट शवयात्रा चलाएर पशुपति आर्यघाट पुर्‍याइयो। त्यसक्रममा उच्च पदस्थ नेता, पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणसमेत सयौँको भिड जम्मा भएको थियो।

सीताको निधन भएदेखि प्रचण्डलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसहितले साथ दिइरहे।

उनीहरु नर्भिक अस्पतालदेखि पेरिसडाँडासम्म प्रचण्डसँगै देखिए। पशुपति आर्यघाटमा पनि नेपाल र देउवा प्रचण्डसँगै देखिए।

सीताको निधनपछि ढिलोगरी नर्भिक अस्पताल पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पेरिसडाँडामा भने देखिएका थिएनन्।

उनी सीतालाई श्रद्धाञ्जली दिन बुधबार अपरान्ह आर्यघाट पुगे। जहाँ त्यसअघि नै अन्य नेताहरु पुगिसकेका थिए।

सीताको अन्तिम बिदाइ चल्दै गर्दा नेताहरु आर्यघाटअगाडिको पाटीमा जम्मा हुँदै थिए। केही शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले बस्ने व्यवस्था पनि मिलाए।

खासगरी शोकमा रहेका प्रचण्डलाई ढाडस दिन पुगेका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र नारायणकाजीसहितलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइयो। त्यहीँ प्रचण्ड पनि मिसिएर देउवासहितका नेताहरुसँग कुरा गरे।

दु:खद घटनामा पनि संयोगवश आर्यघाटमा ओली र एमालेबाट छुट्टिएर दुई वर्षअघि नयाँ पार्टी खोलेका माधव नेपाल एकै ठाउँ देखिए।

शोकमग्न देखिएका उनीहरुमध्ये माधव नेपाल पल्लो छेउमा थिए। त्यसपछि उनीसँग कुम जोडिने गरी ओली बसेका थिए।

तर उनीहरुबीच बिग्रिएको सम्बन्धमा कुनै सुधार नभएको दृश्य त्यहाँ पनि देखिन्थ्यो। ओलीसँगै मास्क लगाएर कांग्रेस सभापति देउवा बसेका थिए।

त्यसपछि पाटीको खम्बाले छलिएको अवस्थामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बसेका थिए।

ओली पुग्नुअघि त्यहाँ देउवासँगै प्रचण्ड बसेका थिए। प्रचण्डले देउवा र नेपालसँग केही संवाद पनि गरे।

तर ओली र नेपालबीच खुलेर संवाद हुन सकेन। २०७८ भदौमा एमालेबाट छुट्टिएर नेपालले नयाँ पार्टी बनाएपछि उनी माओवादी र कांग्रेसनिकट भएका छन्। 

एमाले र एकीकृत समाजवादीबीच एकताको चर्चा चले पनि ओली र नेपाल तयार नहुँदा सम्भव भएको छैन। यसअघि यी दुई नेता राष्ट्रपतिको कार्यालयमा भेट भएर संवादको वातावरण बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .