ad ad

राजनीति


विनोद चौधरी भन्छन् : कांग्रेसकै नेताहरू चुनाव हराउन लागे, साह्रै तितो अनुभव भयो

रास्वपाका कारण चुनौती बढ्यो
विनोद चौधरी भन्छन् : कांग्रेसकै नेताहरू चुनाव हराउन लागे, साह्रै तितो अनुभव भयो

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १२:२७, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले गत मंसिरको चुनावमा आफूलाई जिताउनेभन्दा हराउने काममा कांग्रेसकै नेता-कार्यकर्ता सक्रिय भएको बताएका छन्। 

गत मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका उनले पार्टीभित्रकै नेता कार्यकर्ताका कारण आफूहरुलाई समस्या परेको पनि बताए। 

‘मैले पहिलोपटक जनताबीच प्रत्यक्ष जाने मौका पाएँ। पार्टीले मलाई विश्वास गर्यो। मैले आफ्नो चुनावको अनुभव राख्दा, एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधिमा लाग्यो’, उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा त कसरी विरोधी उम्मेदवार विजयी गराउने भन्ने काममै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए। यसका प्रमाण निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्।’  

उनले आफूले निर्वाचनका बेला अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेको बताए। ‘म जस्तै धेरैले यस्तो अनुभव गरेको मैले पाएको छु’, उनले भने, ‘पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो र उनीहरुलाई पार्टीको उद्धेश्यप्रति जिम्मेवार बनाउन नसक्ने हो भने पार्टी जस्तो रहन सक्दैन।’

चौधरीले  बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कारण चुनौती थपिँदै गएको पनि बताएका छन्।

उनले रास्वपाको नाम नलिई नयाँ पार्टीहरुका कारण पुराना पार्टीहरुलाई चुनौती थपिएको बताएका हुन्। 

‘अहिले नयाँ नयाँ पार्टीहरु जुन रुपमा सलबलाइरहेका छन्, जुन रुपमा स्थानीय तहमा गतिविधि गरिरहेका छन्। नाम नै नसुनेका उम्मेदवार उठ्दा पनि हजारौं भोट पाउँछन्’, उनले भने, ‘खासगरी युवा पंक्तिहरु, नयाँ पढेलेखेका, देशबाहिर रहेका युवाहरुले आफ्नो परिवार, पार्टीकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुस्। पुराना पार्टीका कारण हामी विदेशिएका हौँ भनेर नयाँलाई मतदान गर्न भनेर परिवारका सदस्यमा दबाब दिइरहेको अवस्था छ।’

यस्तोमा कांग्रेस एकढिक्का हुनुको साटो आफ्नै पार्टीका कतिपय नेताहरुबाट असहयोग हुनुले स्थिति झनै गम्भीर रहेको उनले बताए। 

‘यसका बारेमा पार्टीले अत्यन्तै गम्भीरताका साथ त्यस्ता मानसिकता भएका तथाकथित व्यक्ति जो आफूबाहेक अरु हुनुहुँदैन भन्छन्’, उनले भने ‘त्यस्ता व्यक्तिलाई समयमै पन्छाउन सकेनौं भने त्यसले झन् आगामी दिन कठिन हुने कुरा निश्चित छ।’

उनले रास्वपालाई लक्षित गर्दै नयाँ पार्टीहरुले ठूलो संख्यामा सदस्या बाँडिरहेको पनि बताएका छन्। 

‘नयाँ पार्टीहरुले ठूलो संख्यामा मेम्बरसिप वितरण गरिरहेका छन्। उनीहरुले मान्छे मात्र परिचालन गरेका छैनन्’, उनले भने, ‘आर्थिक स्रोत पनि परिचालन गरिरहेका छन्। अनलाइन र टेक्नोलोजीको माध्यमबाट उनीहरु संगठन विस्तारमा छन्। यी कुरा दिनहुँ जानकारीमा आइरहेका छन्। मैले यो विषय यहाँ राख्नैपर्छ।’ 

उनले पछिल्लो समय देखिएका पार्टीहरुले गरिरहेको सदस्यता विवरण जस्तै आक्रामक हुन नसके कांग्रेस भोलिका दिनमा अप्ठेरोमा पर्ने बताएका छन्। 

चौधरीले फरक प्रसंगमा बैंकमा तरलता बढेको भन्दै यसलाई व्यवस्थित गर्न र बेरोजगार पाँच लाख युवालाई सम्बोधन गर्न सकिने उपाय खोज्नुपर्ने बताए।  

उनले देशभरमा योजना लगेर आकर्षण गराउन जसको अनुहार बिक्छ पार्टीले उसैलाई अगाडि बढाउनु पर्नेमा पनि जोड दिएका छन्। 

चौधरीले ले शिक्षामा मात्रै दुई खर्ब रुपैयाँ बाहिरिएको भन्दै त्यसलाई कसरी नेपालमै रहने गरी शिक्षा नीति बनाउने हो भन्ने बारेमा पनि कांग्रेस गम्भीर हुनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .