ad ad

राजनीति


देउवाको हाँसोठट्टा- खीर दिवसमा कति भाषण गर्ने खै!

देउवाको हाँसोठट्टा- खीर दिवसमा कति भाषण गर्ने खै!

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार १७:११, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक समारोहका कार्यक्रममा निकै छोटा भाषण गर्नेमध्येका एक नेता हुन्। 

सार्वजनिक समारोहमा मात्रै होइन, पार्टी बैठकमै पनि उनी धेरैबेर बोल्दैनन्। गत हप्तामात्र सकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि देउवाले लामो भाषण गरेनन्।

बरु, बैठकमा धारणा राख्ने क्रममा केही केन्द्रीय सदस्यहरूले समय लम्ब्याउँदै गर्दा देउवासँग चर्काचर्की नै पर्‍यो। 

यसैबीच सोमबार राजधानीमा नुवाकोट क्षेत्रीय कार्यसमितिले खीर खाने प्रचलनको अवसरमा आयोजित ‘चियापान तथा भेटघाट कार्यक्रम’ सहभागी भएका थिए, देउवा। 

अघिपछि पनि सार्वजनिक कार्यक्रममा लामो भाषण नगर्ने देउवाले सोमबारको कार्यक्रमको सुरुवातमै भाषणको प्रसंग उप्काए। 

प्रमुख अतिथिको रुपमा सहभागी भएका देउवाले पोडियममा पुग्नेबित्तिकै भने, ‘खीर दिवसमा भाषण कति गर्ने खै!’

उनीभन्दा अगाडि भाषण गरेका अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै कुरा गरिसकेको भन्दै आफूले भन्नुपर्ने विषय नरहेको देउवाले बताए। 

‘महत्वपूुर्ण काम गरेर क्षेत्रीय कार्यसमितिको भूमिकामा साथीभाइसँग भेटघाट गर्ने काम गरिदिनुभयो। धेरै कुरा अर्थमन्त्रीले भन्नुभएको छ, मैले भन्ने केही छैन,’ उनले भने। 

सम्बोधनका क्रममा देउवाले देशमा स्थायी शान्ति स्थापना गर्नुपर्ने समयमा आफूहरु रहेको उल्लेख गरे। 

संविधानमा भएका कमीकमजोरीहरुलाई सुधार्दै अघि बढ्नुपर्ने बताउँदै देउवाले राष्ट्रिय एकता र सार्वभौमसत्ता अहिलको आवश्यक्ता रहेको पनि बताए। 

‘राष्ट्रको एकतालाई अघि बढाउन सबै लाग्नुपर्छ। अहिले जो प्रकाश शरण महतजीले जो खीर खुवाउने कार्यक्रम गर्नुभएको छ। त्यसका लागि हार्दिक धन्यवाद दिँदै विदा हुन्छु, धन्यवाद,’ यति भनेर देउवाले आफ्नो भाषण सके।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .