ad ad

राजनीति


कमल थापाको आरोप- भ्रष्टाचारका काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ

कमल थापाको आरोप- भ्रष्टाचारका काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ

नेपालखबर
साउन १६, २०८० मंगलबार १८:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरूमा संलग्न रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका भ्रष्टाचार काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको दाबी गरेका हुन्। 

‘सबैभन्दा दुर्भाग्यको कुरा यहाँ भ्रष्टाचार भयो भन्ने मात्र होइन, भ्रष्टाचार आफैँमा महारोग हो। त्यो भन्दापनि सबैभन्दा चिन्ता लाग्ने कुरा के हो भने यी सबै प्रकारका भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको छ,’ उनले भने, ‘राजनीतिक दल र दलका नेताहरु संलग्न रहेका छन्। स्वयं देशको गृहमन्त्री, गृह मन्त्रालय, जसले शान्ति, सुरक्षा दिनुपर्छ। अपराध नियन्त्रण गर्नुपर्छ। त्यही गृह मन्त्रालय र गृह मन्त्रालय सञ्चालन गर्ने मन्त्री, प्रधानमन्त्री यी भ्रष्टाचारका काण्डहरूमा संलग्न भएका छन्।’

उनले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताउँदै उनले प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको बताए। 

‘कारबाही हुँदैन। केही कारबाहीका नाटकहरू गरिन्छन्। तर मुल जरोसम्म पुग्ने प्रयास हुँदैन। यही सुन तस्करीलाई हेर्नुस्, एयरपोर्टबाट विदेशमा रगत, पसिना बगाएर घर फर्कंदाखेरी एउटा मोबाइल, एक तोला सुन ल्याउँदाखेरी पक्राउ गर्नसक्ने राज्य संयन्त्रले एक क्विन्टल सुन तस्करी हुँदाखेरी देख्दैनँ,’ उनले भने।

अध्यक्ष थापाले नेताहरूले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताए। उनले नेताहरूले भ्रष्टाचारको नयाँ-नयाँ फाइलहरू खोल्ने भनेपनि विश्वास गर्न नसकिने पनि बताए।

‘कतिसम्म अपराधि छन् राज्य संयन्त्र भने त्यो मुल जरोसम्म पुग्ला भन्ने डरले यी नेताहरूको मुखुण्डो उघारिएला भन्ने डरले तस्करी गरिएको सुन बोकेर हिँडिएको ट्याक्सीलाई सम्बन्धित ठाउँमा पुग्नुभन्दा अगाडी नै बाटोमा समात्छ। किनभने सम्बन्धित ठाउँमा पुग्यो भने त मुखुण्डो उघारिने भो,’ उनले भने, ‘अपराधी को रहेछ भन्ने थाहा हुने भो। भरियाहरूलाई समातेर हामीले ठूलो–ठूलो कारबाही गरेका छौँ, नयाँ–नयाँ फाइलहरु खुल्छन् भन्ने दम्भ गरिराखेका छन् नेताहरू। तर म यहाँहरुलाई निवेदन गर्न चाहन्छु, के यीनीहरूबाट कारबाही हुन्छ भन्ने विश्वास गर्न सकिन्न । किनभने यिनीहरू आफैँ संलग्न छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .