ad ad

राजनीति


बैठक समापन गर्दै प्रचण्डले भने : अब माओवादी जाग्ने छ, फेरि देशको नेतृत्व लिन्छ

बैठक समापन गर्दै प्रचण्डले भने : अब माओवादी जाग्ने छ, फेरि देशको नेतृत्व लिन्छ

माओवादी बैठकमा अध्यक्ष प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन २१, २०८० आइतबार १७:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने विशेष अभियानबाट पार्टीले नयाँ उचाइ लिने बताएका छन्।

काठमाडौं आइतबार सम्पन्न आठौं केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका दाहालले अब पार्टीलाई जगाउने गरी होमिने पनि बताए। 

उनले पार्टी निर्माण अभियानलाई गति दिन आफैं पनि विशेष अभियानका क्रममा सातवटा वडामा पुग्ने बताएका छन्। 

‘म आफैं पनि पार्टी अभियान लिएर सातवटा वडामा जान्छु। तीन महिने विशेष अभियानका क्रममा जनताको एउटा पनि घर नछाड्ने निर्णय भएको छ’, उनले भने, ‘सुशासन, समृद्धि र भ्रष्टाचारविरुद्ध हामीले थालेको अभियानबारे 
जनतालाई बुझाउने छौँ। जनताका एउटा घर पनि छाड्दैनौँ।’

दाहालले जनता र परिवारसँग जोडिने गरी तीन महिने अभियान चलाइसकेर पार्टीलाई विधान सम्मेलनमा लैजाने पनि घोषणा गरे। 

उनले अब पार्टीभित्रका नेताहरुबीच विवाद रहेको कुरा पनि हटेको बताए। ‘नेताहरुबीच विवाद र आशंका रहेको भन्ने थियो तर त्यस्तो होइन’, उनले भने, ‘मलाई लाग्छ मिडियाका साथीहरुले पनि थाहा पाइसक्नु भएको छ हामी एक ढिक्का भएका छौँ।’

उनले कुनै पनि नेता कार्यकर्तालाई पार्टी विधि र पद्धतिबाहिर नजान पनि भनेका छन्। ‘हामी कुनै विधि र पद्धतिबाहिर जाने छैनौँ। मुख्य नेतृत्वमा गोलबन्द भएर हामी सरकारका सन्देश लिएर गाउँ जानेछौँ’, उनले एक रहेको सन्देश दिँदै बैठकमा भने, ‘हामी अहिलेको कामको स्वामित्व लिने गरी जनतामा जाने छौँ। आमनेपाली जनतालाई पनि भन्न सक्छौँ, भावनात्मक रुपले पनि एकजुट भएका छौँ।’

दाहालले अब फेरि माओवादी जाग्ने बताए। ‘माओवादी केन्द्र फेरि जाग्नेछ, हामी देशको नेतृत्व लिनेछौँ’, उनले भने, ‘हामी युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने पार्टी हौँ। जनताका भावना सम्बोधन गर्न जेसुकै गर्न सक्ने पार्टी हौँ।’

उनले बीचमा केही समय अलमल भए पनि माओवादीले देशलाई नयाँ उज्यालो दिएको पनि जिकिर गरे। 

‘बीचमा केही अलमल भएको थियो। यो बैठकले हाम्रो पार्टी र देशलाई नयाँ उज्यालो दिएको छ’, उनले भने, ‘आठौं केन्द्रीय समितिको चौथो बैठक सफलताका साथ सम्पन्न भएको छ। यही सन्देश लिएर जनतामाझ जानुस्।’

यसअघि शनिबारको बैठकमा उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनले आफूहरुले सहयोग गर्दा गर्दै पनि अध्यक्षबाट शंका गर्ने काम भएको गुनासो गरेका थिए। त्यसलाई नै निरूपण गर्दै प्रचण्डले पार्टी एकढिक्का भएको घोषणासहित बैठक समापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .