नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दोषी देखिए पार्टीकै नेता भए पनि अनुसन्धानमा तान्ने बताएका छन्।
आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा केही पदाधिकारीसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुन तस्करीमा संलग्न जोकोहीलाई अनुसन्धानको दायरामा ल्याइने दाबी गरे।
नौ केजी सुन तस्करी प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि मुछिएको समाचार बाहिरिएको छ।
यही विषयमा माओवादीका केही पदाधिकारीहरुले जिज्ञासा राखेका थिए।
त्यस क्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले दोषी कसैलाई नछोड्ने प्रधानमन्त्रीले दिनुभएको निर्देशन पालना गर्ने बताएका छन्।
‘प्रधानमन्त्रीले अहिलेसम्मका कामहरुको ब्रिफिङ लिँदै कसैलाई रोक्ने कसैलाई पक्राउ गर्ने गर्नु हुँदैन भनेर मलाई निर्देशन नै दिनुभएको छ,’ श्रेष्ठले भने, ‘मैले प्रधानमन्त्रीकै सल्लाहमा प्रहरी अधिकृत अनुसन्धान प्रमुख लगायत सबै पक्षलाई बोलाएर कसैलाई आग्रह–पूर्वाग्रह
(मोलाहिजा) नराखी अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिइसकेको छु।’
उनलाई भेपमा राखेर नेपाल भित्र्याएको नौ किलो सुन र त्यसमा संलग्नबारे केही सञ्चारमाध्यममा आएका समाचारबारे केही पदाधिकारी नेताले सोधे ।
गृहमन्त्री श्रेष्ठले अहिलेसम्म नौ किलो सुनको मालिक पत्ता नलागेको बताउँदै प्रहरीले खोजी जारी राखेको पनि जानकारी दिए।
‘भेपको केसमा मुख्य मानिस कारबाहीको दायरामा ल्याउन अनुसन्धान र खोजी जारी छ,’ श्रेष्ठले भने, ‘यहाँ सुन हो भनेर बेच्न लैजाने मात्रै भेटियो, यसका लगानीकर्ता भेटिएको छैनन्, अहिले नै समाचारलाई आधार मानेर धारणा बनाइहाल्ने अवस्था छैन।’
‘यदि हाम्रै पार्टीका कोही नेताहरुलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छौँ, अनुसन्धान नगर्नू भनेका छैनौँ,’ श्रेष्ठले थपे।
‘पार्टीका नेता जोडिएको विषय क्लियर पार्नुपर्छ। प्रमाण भेटेसम्म कुनै संकोच मान्नुपर्दैन, हाम्रै नेताको पुष्टि भए कारवाही गर्नुपर्छ, त्यसमा यो, त्यो हुँदैन, गरिँदैन, मलाई प्रधानमन्त्रीले यही भन्नुभएको छ,’ श्रेष्ठले भने।
केही पदाधिकारीले कांग्रेसका सांसद सुनिल शर्मालाई यही बेला पक्राउ गरेर फेरि अदालतले छोडिदिएको विषय उठाएका थिए।
‘पहिले नै आएको कुरा अहिले किन एकाएक उठाएर पक्राउ गरियो? भन्ने प्रश्न उठेका छन्,’ गृहमन्त्रीले जवाफ दिँदै भने, ‘तर, यो सुरक्षा निकायको अनुसन्धान अहिले, उहिले भन्ने हुने रहेनछ, जुन बेला आवश्यक छ, नियन्त्रणमा लिएर कारबाही थालिहाल्ने।’
‘फेरि सुनिल शर्मा मात्रै होइन एकैपटक थुपैै व्यक्ति पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको छ, अब प्रहरीले आफ्नो काम गर्यो, अदालतले छोड्न आदेशमा प्रहरी दोषी हुँदैन,’ उनले भने।
अझै केही डाक्टर पनि पक्राउ पर्ने भए पनि उपचारमा रहेकाले नियन्त्रणमा नलिइएको बताउँदै अनुसन्धान जारी राखिएको श्रेष्ठले बताए।
‘अब सुनिल माननीयले एमाले अध्यक्ष केपी ओलीलाई मेरो गार्जिएन भन्दै भेट्न जानुभएको रहेछ, केही न केही भएको देखिन्छ’, उनले भने।
Shares
प्रतिक्रिया