ad ad

राजनीति


रविको आक्रोश- सभामुखको कुर्सीमा बसेर दलको नेता बन्न पाइँदैन

संसद्लाई ‘हाइज्याक’ गर्न खोजिएको आरोप
रविको आक्रोश- सभामुखको कुर्सीमा बसेर दलको नेता बन्न पाइँदैन

नेपालखबर
साउन २९, २०८० सोमबार १७:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताएका छन्। 

सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताएका हुन्। 

‘सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो। सदनलाई हाइज्याक गरियो। अनायासै सत्ता पक्षका सांसद बोल्नुभयो,’ सभापति लामिछानेले भने, ‘त्यसपछि प्रमुख प्रतिपक्षतिर आयो। प्रमुख प्रतिपक्ष दलका सांसदहरूले बोल्दाबोल्दै अर्को प्रक्रियामा प्रवेश गर्नुभयो। बोल्न सिध्याउनु नि भएको छैन उहाँले। संसद हाइज्याक गरियो। संसद हाइज्याक गर्न पाइँदैन।’

संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको उनको आरोप छ। 

‘हामी घोर भत्र्सना गर्न चाहान्छौँ। यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरुलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि अनि जर्बजस्त अब बन्द गर,’ उनले भने, ‘ल गर तिमीहरू भनेर एउटा कुनै कोठाभित्र कसैले बसेर प्लान गरेर अब तँ यो गर्नु, तँ यो गर्नु, तैले यसो गर्नु, उसो गर्नु म यसो गर्दिन्छु भनेर भनिएको कुराको गन्ध आयो। सदनमा त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर बिरोध गर्न चाहन्छौँ।’

उनले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताए। सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उहाँले कसको लागि र किन त्यस्तो गरिएको हो भनी प्रश्न गरे। 

उनले सभामुखमाथि शंकाको घेरा देखिएको पनि बताए।

‘त्यो सम्मान राख्न सक्नुपर्छ। दल छोडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सिमा बसिसकेपछि दलको बन्न पाइँदैन। व्यवहारले पनि पाइँदैन। क्रियाकलापले पनि पाइँदैन। भित्रि रुपमा, बाहिरी रुपमा पनि पाइँदैन,’ उनले भने, ‘यसले लोकतन्त्रको मुल्य र मान्यतामाथि ठूलो कुठाराघात हुन्छ। ठूलो ठेस लाग्छ। यो क्रियाकलापले पदीय गरिमा, स्वतन्त्रताको पर्याय बन्नुपर्ने त्यो ठाउँमा शंकाको ठूलो एउटा घेरा देखिएको छ। अत्यन्तै धेरै शंका गर्नुपर्ने घेरा देखिएको छ।’

सभापति लामिछानेले आफू आजको संसद बैठकमा विशेष कुरा बोल्ने महत्वपूर्ण तयारी साथ आएको भएपनि बोल्न नपाएको बताए। 

उनले योजनावद्ध रुपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरु प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .