ad ad

राजनीति


योग्य श्रमशक्ति पलायनको चक्र रोक्नुपर्छ : पूर्वअर्थमन्त्री पुन

योग्य श्रमशक्ति पलायनको चक्र रोक्नुपर्छ : पूर्वअर्थमन्त्री पुन

नेपालखबर
साउन ३२, २०८० बिहिबार १०:१७, काठमाडौँ

पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले स्वदेशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलायनको चक्रलाई रोक्नुपर्ने बताएका छन्। औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनको भनाइ छ। 

वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरूसँग सुझाव लिन नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ता रहेका सो विभागका प्रमुख पुनले उक्त विचार राखेका हुन्। 

‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोड दिनुपर्छ’, बुधबार राति अबेर  राजधानीमा सम्पन्न कार्यक्रममा पुनले भने, ‘श्रम-शक्तिको  निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको छ।’

पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे। 

पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए।

आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको दाबी पुनले गरे।

आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको दाबी उनले गरे। तत्कालीन अवस्थामा करिब-करिब बन्द हुने अवस्थामा रहेका तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको उनले बताए। 

हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्नेमा उनले जोड दिएका छन्। 

यस्तै आफूले अर्थमन्त्री भएका बेला डुब्न लागेको वायु सेवा निगमलाई दुईवटा न्यारोबडी जहाज किनेर जोगाएको उनले बताए। 

‘हिजो सरकारमा हुँदा पनि हामीले सस्तो लोकप्रियताका लागि धेरै हल्लाखल्ला नगरी धराशायी भएका सरकारी स्वामित्वका तीनवटा बैंकको पुँजीवृद्धि गरी निजी क्षेत्रका बैंकसँगै प्रतिस्पर्धी बनाएको र वायुसेवा निगम जोगाएको अनुभव छ’, पुनले भने, ‘अहिले पनि कमजोर व्यवस्थापनमा चलेका सार्वजनिक संस्थानहरुलाई बचाउन केही न केही नयाँ नीतिमा हामी जानैपर्छ।’

उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको तर्क गरे। मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको नीति खम्बे अर्थनीतिलाई आत्मसात् गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने पुनको भनाइ छ। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पहिलोदेखि १५औं पञ्चवर्षीय योजनासम्मका धेरै योजना असफल भएको दृष्टान्त प्रस्तुत गरे। १६औं पञ्चवर्षीय योजनाको तयारी भइरहँदा विगतका असफलताबाट सिकेर अति महत्वाकांक्षी योजना समेट्न नहुने उनले बताए।

नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको हो।

कार्यक्रममा विज्ञहरुले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सरकारले छिट्टै प्रक्रिया अघि बढाउनुपर्ने, विद्युत् निार्यातलाई नभई स्वदेशमै खपत बढाउने गरी औद्योगीकरण गरिनुपर्ने, श्रमशक्ति निर्यात गर्ने नभई उपयोग गर्ने नीति अख्तियार गरिनुपर्ने, उत्पादन वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम अघि सारिनुपर्नेजस्ता सुझाव दिए।

लगातार रुपमा वार्षिक बजेटले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसक्नाका कारणबारे राष्ट्रिय स्तरमै समीक्षा हुनुपर्ने पनि सहभागीहरुले बताए। कार्यक्रममा विज्ञहरुका साथै माओवादी केन्द्रका ३३ वटै विभागबाट दुई/दुई जनाका दरले प्रतिनिधित्व थियो।

अन्तरक्रियामा आएका सुझाव समेटेर छिट्टै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइने माओवादी आर्थिक तथा योजना विभागका सदस्य एवं युवा अर्थशास्त्री डीपी ढकालले जानकारी दिए।

‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तरक्रियामा कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलस्रोत र वाणिज्यसहित विभिन्न क्षेत्रका जानकारहरुले सुझाव दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .