ad ad

राजनीति


नीति तथा कार्यक्रम देखाउन बनाएको होइन, उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री

‘सुन तस्करी सामान्य हेलचक्र्याँइले भएको होइन, ठूलै मान्छेको संलग्नता छ’
नीति तथा कार्यक्रम देखाउन बनाएको होइन, उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री

नेपालखबर
भदौ १, २०८० शुक्रबार १४:५४, काठमाडौँ

कानुन, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन्। 

शुक्रबार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन्। 

उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने पनि बताए। गुरुङले सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको पनि बताए।

‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन। देखाउनका लागि लेखेको होइन,’ उनले भने, ‘यो कुनै हात्तीको दाँत होइन। यो कार्यान्वयन नै गर्र्ने हो। त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ।’

बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने पनि बताए। 

उनले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने पनि बताए।

‘मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो। यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरूको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्नेकुरामा हामी प्रष्ट हुनु आवश्यक छ,’ उनले भने, ‘जसले टिप्पणी उठाउँछ, तीनका हातहरुमा हत्कडी लगाउने र फेरी टिप्पणी उठाउन आदेश दिनेहरुलाई तिनै टिप्पणी उठाउनेहरुको हातमा हत्कडी लगाउनेहरूलाई हत्कडी लगाउने हातले फेरि आदेश दिनेहरुलार्ई सलाम ठोक्ने प्रवृत्तीको अन्त्य खोज्नुपर्छ।

उनले सुन तस्करीलाई सामान्य हेलचक्र्याँइका रुपमा हेर्न नहुने बताउँदै सामान्य हेलचक्र्याँईले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गरे।

‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याँइले गर्दा भएको हो रे। त्यति ठूलो पहँलो हात्ती गेटबाट छिर्दाखेरी साधारण हेलचेक्र्याँइ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दैथिएँ,’ उनले भने, ‘तर, त्यस्तो होइन। हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ।’

कानुनमन्त्री गुरुङले सरकारले कानुनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानुनको कठघरामा उभिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .