ad ad

राजनीति


सर्वोच्चको ठहर : उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

सर्वोच्चको ठहर : उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार १८:१६, काठमाडौँ

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ।

प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको पक्षमा अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले संवैधानिक व्यवस्था अनुसार सभाको अध्यक्षता गरेका व्यक्तिले संसद्मा मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन मिल्ने पनि स्मरण गराएको छ।

सर्वोच्चको आदेशमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिएको जनाएको छ। 

‘प्रदेश सभाका सदस्यहरू इस्राइल मन्सुरी र माननीय गीता तिमलसिनाले पालो पालो गरी सभाको अध्यक्षता गरेको देखियो। त्यही बैठकका सन्दर्भमा निजहरू दुवै जनाले माननीय मुख्यमन्त्री उद्धव थापा उपरको विश्वासको मत दिएर सो मत समेत गणना गरी उद्धव थापाप्रति विश्वासको पक्षमा कूल ४७ मत र विपक्षमा ३० मत प्राप्त भएको भनी घोषणा गरिएको देखियो’, सर्वोच्चले भनेको छ, ‘नेपालको संविधानको धारा १८६ बमोजिम प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने देखिँदैन। विवादित मत दिइएको सन्दर्भमा मत बराबर भएको भन्ने देखिएन। यस अवस्थामा कूल ९३ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभाका बहूमत सदस्य ४७ जनाको विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी उद्धव थापाले विश्वासको मत प्राप्त गर्नु भएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो।’

सर्वोच्चले आगामी भदौ १३ गते बुधबार बेलुकी ५ बजेभित्र कोशी प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनी गरिएको घोषणा लगायत कागजातसमेत सक्कलै साथै राखी लिखित जवाफ पेस गर्न पनि भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .