ad ad

राजनीति


सर्वोच्च अदालतमा भदौ ११ देखि ‘पेशी तारेख अटोमेसन सिस्टम’

सर्वोच्च अदालतमा भदौ ११ देखि ‘पेशी तारेख अटोमेसन सिस्टम’

फाइल फोटो


नेपालखबर
भदौ १०, २०८० आइतबार १७:१०, काठमाडौँ

सर्वोच्च अदालतले भदौ ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेसन सिस्टम’ सुरु गर्ने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलीदेखि सो सिस्टम सुरु गर्न लागेको जानकारी दिए।

आइतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामुहिक भेटमा उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेसन सिष्टमको सुरुवात गर्नुपरेको बताए।

उनले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए। सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ।

उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए।

उनले भने, ‘पेशी तारेख अटोमेशन शुभारम्भ। कि अब पेशी तारेख हुँदाखेरी कर्मचारीहरुले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु। यस्तैयस्तै माध्यमबाट हामी अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने आदि कुराहरु सानातिना व्यवस्थापकीय कार्यहरुबाट पनि गर्न सकिन्छ होला।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गरे। उनले न्यायाधीश नियुक्ती नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताए।

मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरु समेत नहुँदा अप्ठ्यारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो।

उनले ‘न्यायाधिश नियुक्तीको विषय म तत्काल गरिहाल्छु। न्यायाधीश नियुक्ती नगरी नहुने भएको छ। त्यो मैले महशुस गरेको छु। म त्यसमा लागि सकेको छु। छिट्टै त्यो नतिजामा आउँछ होला। साथीहरु कम छ। मुद्दाहरुको बोझ छ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .