प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीप्रति जनता र अन्य पार्टीहरूको पनि भरोसा भएको बताएका छन्।
शनिबार चन्द्रागिरिमा आयोजित ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को कार्यक्रम सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
३२ सिट हुँदा पनि सदनमा भएका ८० र ९० सिटवाला पार्टीहरूको पनि समर्थन आफूलाई मिलेको उनले दाबी गरे।
‘३२ सिटको पार्टी हुँदा हुँदा पनि देशको नेतृत्व गर्ने अवसर मात्र पाएनौं, बरु सदनमा भएका ८० र ९० वालाको अन्य पार्टी सबैको पनि समर्थन थियो। विश्वासको मत लिँदा सदनको झण्डै शतप्रतिशत नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतमा मलाई मिल्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो अद्भुत परिघटना हो। नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन।’
साथै, प्रधानमन्त्री प्रचण्डले माओवादी र माओवादीको नेतृत्वलाई राष्ट्रले स्वीकार गरेको प्रमाण यो नै रहेको बताए।
‘यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति जनताको, अरु पार्टीहरुको पनि भरोसा छ। हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने यो प्रमाण हो,’ प्रधानमन्त्री प्रचण्डले भने।
Shares
प्रतिक्रिया