ad ad

राजनीति


काउलीको बिरुवा रोपेर उपाध्यक्ष सापकोटाले गरे ‘जनतासँग माओवादी’ अभियानको उद्घाटन

काउलीको बिरुवा रोपेर उपाध्यक्ष सापकोटाले गरे ‘जनतासँग माओवादी’ अभियानको उद्घाटन

नेपालखबर
भदौ १६, २०८० शनिबार २१:३९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्किएको बताएका छन्।

माओवादी केन्द्रले शनिबारदेखि सुरु गरेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को गृहजिल्ला सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा न ३ वाफलमा उद्घाटन गर्दै सापकोटाले सो कुरा बताएका हुन्।

उनले स्थानीय किसानले सामूहिक उत्पादनका लागि सुरुवात गरेको जनसामूहिक कृषि फार्ममा काउलीको विरुवा रोपेर अभियानको उद्घाटन गरे।

सापकोटाले अभियान उद्घाटन कार्यक्रम र जनताको घरदैलोमा पुगेर अन्तरक्रिया गरेका थिए।

त्यसक्रममा उनले उत्पादन र आत्मनिर्भरतामा जोड दिए।

जनताको बलमा विश्वलाई चकित पार्ने जनयुद्ध सम्भव भएको बताउँदै सापकोटाले फेरि जनताकै बलमा सामाजिक न्याय सहितको वैज्ञानिक समाजवाद स्थापनाका लागि पहल लिइने बताए।

स्थानीयले सडक, गुठि जग्गा, स्वास्थ्य र शिक्षाका विषयमा राज्य गम्भीर हुनु पर्ने विषय राखेका थिए। 

अभियान उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष राजु लामाले कृषिलाई प्राथमिकता दिएर उत्पादनमा विशेष जोड दिइएको बताए।

उनले सामान्य विषयमा गाउँपालिकाले नै निर्णय लिन सक्ने भएपनि ठूला बजेटमा हुने कार्यक्रम केन्द्र र प्रदेशतहबाट सहयोग आए मात्रै सम्भव हुने बताए।

यसैबीच माओवादी अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट उद्घाटन गरेसँगै देशभरका सबै वडामा अभियान सुरु भएको छ। 

अभियान तीन महिना सम्म जारी रहने माओवादीले जनाएको छ।

गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो।

यो अवधिमा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .