ad ad

राजनीति


‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


नेपालखबर
भदौ १७ , काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

आइतवार ‘हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन्।

उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जीवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न आग्रह गरे। उनले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुने बताए।

उनले भने, ‘हाम्रा लागि साना तथा धेरै महत्वका नलाग्न सक्ने गुनासोहरु आम जनताको लागि दैनिक जिवनका आयामसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण विषय हुन् सक्छन्। गुनासा तथा जिज्ञासाहरु सबै महत्वपूर्ण नै हुन्छन् र सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुन्छन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ।’

सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेपनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाई छ। उनले जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पारे। प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताए।

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन। आइतवारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ। नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको जानकारी दिए। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको जनाइएको छ।

गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

 

भदौ १७, २०८० आइतबार १४:२८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .