ad ad

राजनीति


‘हेल्लो सरकार’मा गुनासो टिपाउने क्रम बढ्यो, कस्ता छन् नागरिकका गुनासा?

‘हेल्लो सरकार’मा गुनासो टिपाउने क्रम बढ्यो, कस्ता छन् नागरिकका गुनासा?

नेपालखबर
भदौ १९, २०८० मंगलबार ७:७, काठमाडौँ

सरकारले ‘हेल्लो सरकार’को २४ घण्टे सेवा सुरुवात गरेपछि नागरिकले फोन गरेर गुनासा टिपाउने क्रम बढ्न थालेको छ। कतिपय गुनासा कार्यान्वयन प्रक्रियामासमेत गएपछि यसप्रति नागरिकको विश्वाससमेत बढ्न थालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरेर हेलो सरकारको शुभारम्भ गरेका थिए। 

सोमबार हेलो सरकारमा फोन गरेर ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन्। 

गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

हेलो सरकारमा फोनमार्फत गुनासो टिपाउँदा त्यसको सम्बोधन भएको पाइएपछि यसप्रति आम नागरिकको चासो र विश्वास बढेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनेर जाँच गर्नसमेत फोन गर्ने गरेका छन्। हेलो सरकार सुरुआत गरेकोमा शुभकामना दिनका लागि पनि नागरिकले फोन गर्ने गरेका आचार्यले बताए। 

आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माण कार्यमा भएको ढिलाइ लगायतका विषयमा पनि नागरिकले हेलो सरकारमा गुनासो गर्ने गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषयसम्बन्धी गुनासा दैनिकरूपमा बढ्दो क्रममा रहेका, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यस्तै प्यान लिन के गर्नुपर्छ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ? जस्ता जानकारी माग्न पनि नागरिकले फोन गर्ने गरेका छन्। 

फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .