नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अराजक अभिव्यक्ति दिनेलाई राज्यको कानुनी प्रक्रियामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राज्यको एउटा तहको सरकार प्रमुखले ‘चोर’ भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गरेकोप्रति आपत्ति जनाउँदै सो कुरा बताएका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केहीदिन अघि सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाउने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति विवादित बनेपछि उनले सामाजिक सञ्जालमार्फत स्टाटस समेत हटाएका थिए।
‘विधिको शासन, मानव अधिकार हाम्रो देशमा छैन र? निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई ‘चोर’ भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गर्छ। हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौं,’ सांसद पौडेलले भने।
अहिलेको प्रणाली ल्याउन लडेको भन्दै यसको सुरक्षा गराउने दायीत्व पनि आफूहरूको रहेको बताए।
‘यो प्रणाली ल्याउनका लागि हामीले हिजो लड्यौं। यसको सुरक्षा गराउने पनि हाम्रो दायीत्व छ। यस्ता प्रकारका अराजक अभिव्यक्ति दिनेलाई राज्यको कानुनी प्रक्रियामा ल्याएर कारबाही गर्न पनि म आग्रह गर्न चाहन्छु,’ सांसद पौडेलले भने।
Shares
प्रतिक्रिया