ad ad

राजनीति


चिनियाँ नेताहरुलाई एमाले महासचिवले भने : दक्षिण एसियामा गरिबी निवारण अभियान थाल्नुस्

चिनियाँ नेताहरुलाई एमाले महासचिवले भने : दक्षिण एसियामा गरिबी निवारण अभियान थाल्नुस्

एमाले र चिनियाँ नेताहरुबीचको भेटवार्ता। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १६:२७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरुलाई विश्व शान्तिका लागि दक्षिण एसियामा गरिबी निवारण अभियान थाल्न सुझाव दिएका छन्। 

विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै उनले त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिए।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तरक्रियामा महासचिव पोखरेलले चीनको सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरुले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा सिधा उडानका लागि आग्रह गरे।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरु तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको बताउँदै चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानीका लागि आग्रह पनि गरे।

महासचिव पोखरेलले चिनियाँ कम्युनष्टि पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनामा सफलतापूर्वक अघि बढेको देख्दा खुशी लागेको बताए। 

‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ’, उनले भने। 

एमालेले पनि माक्र्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिँँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेको अभ्यासको आदानप्रदानमा जोड दिए। ‘दुवै पार्टीका अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ’, उनले भने, ‘त्यसले भबिष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाइ लिनेछ।’

एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन–२०८४ अभियान चलाइरहेको पोखरेलले जानकारी दिए। उनले आगामी २०८४ सालमा एमालेलाई बहुमतसहितको पार्टी बनाउने गरी काम गरिरहेको बताए।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एशिया व्युरोका डाइरेक्टर जनरल पिङसिउपिनले नेकपा (एमाले) सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताए।

उनले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताए। ‘महासचिवज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ’, उनले भने, ‘त्यसको अनुभूति तपाईंहरुले गर्नुभयो भन्ने हाम्रो विश्वास छ।’ 

नेता सिउपिनले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रुपमा एमालेलाई पाएकोसमेत बताए। उनले दुई पार्टीबीचको अनुभव र विचार नियमित रुपमा आदनप्रदानमा जोड दिए।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय भ्रमण दल बिहीबार साझ छोङछिङबाट बेइजिङ पुगेको हो। 

छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनलगायत नेतासँग भेट गरेका थिए।

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .