ad ad

राजनीति


हिक्मत कार्की कोशीमा दोस्रो पटक मुख्यमन्त्री, तीन मन्त्री नियुक्त गरिँदै

हिक्मत कार्की कोशीमा दोस्रो पटक मुख्यमन्त्री, तीन मन्त्री नियुक्त गरिँदै

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १८:३९, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की दोस्रो पटक नियुक्त भएका छन्।

उनलाई सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

उनलाई अहिले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ दिलाइँदैछ।

कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै तीन मन्त्री र एक राज्यमन्त्रीलाई शपथ खुवाउने तयारी भएको छ।

सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मन्त्रिपरिषद् गठन हुने भएको हो।

कोशीमा कार्कीले जाति र भूगोलसमेत मिलाएर मन्त्रिपरिषद्लाई समावेशी गर्न लागेका हुन्। उनले कार्कीले ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, झापाका एकराज कार्की र खोटाङका पाँचकर्ण राईलाई मन्त्री बनाउँदैछन्। 

कार्कीले मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बनाउने भएका छन्। मेन्याङ्बो कार्की नेतृत्वको सरकारमा यही मन्त्रालय थिए।

पाँचकर्णलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र कार्कीलाई भौतिक पूर्वाधार विकासमन्त्रालय तोकिँदैछ।

भोजपुरकी समानुपातिक प्रदेशसभा सदस्य सिर्जना राईलाई भने सामाजिक विकास राज्यमन्त्री बनाइने भएको छ।

सर्वोच्चले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङको नाममा कार्कीलाई संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गर्न ४८ घण्टाको समय दिएको थियो। 

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित सर्वोच्चको पूर्ण इजलासले परमादेश जारी गरेको थियो।

९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी उपसभामुखसहित ४० सदस्य एमालेका छन्।

अब कार्कीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ। त्यो अवस्थामा उपसभामुखले मतदान गर्न नपाउने भएकोले कार्कीको पक्षमा ३९ सांसद मात्रै हुन सक्छन्। 

प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .