ad ad

राजनीति


चीनले नेपाललाई शंका गर्न थाल्यो, अर्कै ‘सेक्युरिटी अम्ब्रेला’तिर जान लाग्यो भन्दैछ : एमाले

चीनले नेपाललाई शंका गर्न थाल्यो, अर्कै ‘सेक्युरिटी अम्ब्रेला’तिर जान लाग्यो भन्दैछ : एमाले

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८० आइतबार १३:१८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपालसँगको सम्बन्धलाई लिएर उत्तरी छिमेकी चीनले अनेक आशंका गर्न थालेको जनाएको छ।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेको तर्फबाट आफ्ना भनाइ राख्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले चीनले नेपाललाई आशंकाको नजरले हेर्न थालेको बताएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोजमा हुन लागेको अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा एमालेको तर्फबाट बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव मागेपछि आफूले विश्वास बटुलेर आउन सुझाव दिएको पनि सञ्चारकर्मीहरुलाई बताएका छन्। 

नेपालसँगको सम्बन्ध सन्तुलित छिमेकी नीतिको बाटोबाट अन्यत्र लागेको शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने पनि बताएका छन्। 

‘प्रधानमन्त्रीले आशन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको छ। पछिल्लो समय नेपाल-चीन सम्बन्धमा विश्वासको संकट देखिएको छ। चिनियाँ मित्रहरुको मनमा नेपाल कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको भन्ने शंका देखिएको छ’, उनले भने, ‘नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो कि, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो कि वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर जान खोजेको हो कि भन्ने परेको छ।’

उनले चीनमा नेपालप्रति बढेको अविश्वासलाई चिर्ने काम प्रधानमन्त्रीले असोज पहिलो साताको भ्रमणमा गर्नु जरुरी रहेको पनि बताएका छन्। 

‘नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा प्रधानमन्त्रीले कुरा राख्नुपर्छ भन्ने मैले आग्रह गर्छु’, उनले भने, ‘उचस्तरीय भ्रमणको क्रममा जे समझदारी भएका छन्, तिनको कार्यान्वयनमै केन्द्रित हुनपर्छ भनेका छौँ।’

ज्ञवालीले उचस्तरीय भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको पनि उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .