नेकपा एमालेको आकस्मिक सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसेको छ।
मंगलबार सबेरै बिहान १ बजे उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि बसेको सचिवालय बैठकले तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।
नेकपा एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो। उक्त बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा श्रद्धाञ्जलीस्वरुप माला राखिएको छ।
नेम्वाङको पार्थिव शरीर पनि अहिले त्रिवि शिक्षण अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा लगिएको छ। जहाँ आज दिनभर उनलाई श्रद्धाञ्जली दिइनेछ।
नेम्वाङको कुर्सीमा माला राखेर बसेको बैठकले तीन दिनसम्म शोक मनाउने निर्णय गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए।
उनले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको बताए।
उनले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए।
एमालेले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय पनि गेको छ। त्यस्तै असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभा आयोजना गर्ने निर्णय पनि भएको छ।
Shares
प्रतिक्रिया