ad ad

राजनीति


अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री दाहाल

अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री दाहाल

नेपालखबर
भदौ २९, २०८० शुक्रबार २१:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताएका छन्।

नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘प्रेसिडेन्टस् ब्यान्क्वेट’ कार्यक्रममा उनले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुधारका प्रयास थालेको भए पनि त्यो पर्याप्त नरहेको र कार्यान्वनमा पनि लक्षित उपलब्धी हासिल हुन नसकेको बताए।

 ‘अर्थतन्त्रको सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन्। यसलाई तत्काल सुधार गर्न सकिएन भने हामी गम्भीर सङ्कटमा जान्छौँ’, उनले भने, ‘सरकारको पहिलो लक्ष्य आर्थिक रुपान्तरण हो। आर्थिक समृद्धि हासिल गर्नका सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न सरकार निजीक्षेत्रलगायत सबै पक्षसँग आग्रह गर्दछ।’

आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको प्रधानमन्त्री दाहालले बताए। निजी क्षेत्रको सहयोगमा औद्योगिकरण, उत्पादन वृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर वृद्धि तथा निर्यात प्रवद्र्धन गर्दै अर्थतन्त्रको सवलीकरण हुने विश्वास सरकारले लिएको उनको भनाइ छ। निजी क्षेत्रको सहकार्यबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने पनि उनले स्पष्ट पारे।

‘निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु। यसका लागि वर्तमान सरकार निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्दै आएको छ र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ’, प्रधानमन्त्री दाहालले भने।

अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको र सबैपक्षबाट त्यसमा योगदान आवश्यक रहने उनले बताए। ‘अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ। यो काम सरकार एक्लैले गर्न सक्दैन। निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु’, उनले भने, ‘सरकार निजी क्षेत्रको साथमा छ। अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्दछ। कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु।’ 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सवलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुआत गरेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .