ad ad

राजनीति


एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

रासस
भदौ ३०, २०८० शनिबार १३:२९, ललितपुर

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। 

एनआरएनए) को ११औँ महाधिवेशनका लागि उनले शुक्रबार पाँच नीतिगत योजनासहितको आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। उक्त महावधिशवेनबाट निर्वाचित अध्यक्षको कार्यकाल दुई वर्ष (सन् २०२३–२०२५) को हुन्छ।

‘सबल, साझा र एकताबद्ध एनआरएनए बनाउने मेरो प्रमुख उद्देश्य हुनेछ। सङ्घलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु’, उनले भने।

सङ्घको प्रतिष्ठा र गरिमाप्रति प्रश्न उठिरहेको उल्लेख गर्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र सङ्गठित एनआरएनए बनाउने दृढता व्यक्त गरे। 

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्नेमात्र होइन, गैरआवासीय नेपालीको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरु गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने बताए। 

उनले भने, ‘संस्था स्थापनादेखि नै प्रवासी नेपालीको मुद्दामा सक्रियतापूर्वक काम गरिरहेको छु। विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्षद्वय नरेन्द्र भाट तथा राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिवद्वय प्रवीण गुरुङ र गङ्गाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्वसल्लाहकार हरिबोल भण्डारी, एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष बुद्धी सुवेदीलगायतले आ–आफ्नो धारणा राखे। एनआरएनएको ११औँ महाधिवेशन आगामी असोज ३० गतेदेखि कात्तिक ३ सम्म काठमाडौँमा हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .