ad ad

राजनीति


बुवालाई सम्झिँदै सुहाङले भने : राजनीतिक परिवारमा हुर्किँदैमा आफैंले अवसर पाउनुपर्छ भन्दिनँ (भिडिओ)

बुवालाई सम्झिँदै सुहाङले भने : राजनीतिक परिवारमा हुर्किँदैमा आफैंले अवसर पाउनुपर्छ भन्दिनँ (भिडिओ)

बुवा सुवास नेम्वाङको शोकसभामा सुहाङ नेम्वाङ ।


नेपालखबर
असोज २, २०८० मंगलबार १७:१९, काठमाडौँ

दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा नेकपा एमालेले उनको गृहजिल्ला इलाम सदरमुकाममा मंगलबार शोकसभा आयोजना गरेको छ।

इलाम चोक बजारमा आयोजित उक्त शोकसभालाई उनका कान्छा छोरा सुहाङले सम्बोधन गरे। बुवाको सम्झनामा आयोजित सभामा करिब ८ मिनेट सम्बोधनका क्रममा सुहाङ निरन्तर भावुक भइरहे। सम्बोधन गरिरहँदा पटक पटक उनको गला अवरुद्ध भएको थियो।  

उनको सम्बोधन कुनै दलको युवा नेताकै शैलीमा आएको थियो। सम्बोधनका क्रममा सुहाङले बुवाप्रति दैवले अन्याय गरेको गुनासो गरे।

‘उहाँ (बुवा) ले सारा इलामबासीलाई रुवाएर जानु भयो। दैव छन् कि छैनन् मलाई थाहा छैन, यदि छन् भने उहाँले बुवामाथि न्याय गर्नु भएन’, उनले भने, ‘मेरा परिवार, देश र इलामबासीलाई बुवाले रुवाएर जानुभयो।’

उनले बुवाको निधनपछि आफूले सारा देशवासी रोएको देखेको बताए। ‘मैले सारा देशबासी रोएको देखेँ। अस्पताल निवास, पार्टी कार्यालय र आर्यघाटमा मैले मानिसको सागर देखेँ’, उनले भने, ‘त्यही सागरमा ठेलमठेल गर्दै सबैजना श्रद्धाञ्जली दिन आएको देखेँ। उहाँलाई हजुरहरुले दिएको सद्भावलाई हाम्रो परिवारले कहिले पनि बिर्सिने छैन। अस्पतालदेखि अन्त्येष्टिसम्म गर्नु भएको व्यवस्थाका लागि आभारी छु।’

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका सबै नेताहरुलाई पनि सम्झिए।

नेपाल सरकारले बुवालाई राजकीय सम्मान दिएकोमा उनले आभार प्रकट गरे। एक दिने शोक बिदाका लागि सुहाङले सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए। 

उनले बुवालाई पाँच पटकसम्म विश्वास गरेर जिताएकोमा इलामबासीलाई धन्यवाद दिए। ‘पाँच पटकसम्म बुवालाई विश्वास र सहयोग गरेर तपाईंहरुले जिताउनु भएको छ। विजय जुलुसमा जुन तरिकाले खुसी साट्नुभयो, मैले नजिकबाट देखेको छु’, उनले भने, ‘तर आज उहाँ हामीबीच हुनु हुन्न। उहाँले हामीलाई टुहुरो बनाएर जानु भयो।’

बुवालाई सम्झिँदै उनले देशको स्वाधीनता र स्वाभिमानका दृढ हिमायती रहेको बताए। ‘पछिल्लो समय राजनीति बिग्रिँदै गएको अवस्थामा उहाँको आवश्यकता थियो’, उनले भने, ‘तर, असमयमै उहाँले हामीलाई छाडेर जानु भयो।’

उनले आफू राजनीतिमा सक्रिय नभएको बताउँदै तर देशको राजनीतिक परिवेश राम्रोसँग थाहा भएको सुनाए। 

‘म राजनीतिमा सक्रिय छैन तर म बुवासँग हुर्किएको हुँ। म राजनीतिक परिवेशमा हुर्किएको हुँ। राजनीतिक परिवारमा हुर्किँदैमा उसैले अवसर पाउनुपर्छ भन्दिनँ’, उनले भने, ‘राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुवाले पूरा गर्नुपर्ने कामहरु सामाजिक र कार्यनीतिक हिसाबले कुन तरिकाले गर्न सकिन्छ, तपाईंहरुसँग हातेमालो गरेर पूरा गर्न तयार छु।’

उनले राजनीतिमा सक्रिय हुनेबारे केही नबोले पनि जिल्लाको विकासका लागि सक्रिय हुने वाचा गरे। ‘मलाई हौसला दिनु होला। अहिलेसम्म बुवाले देशको परिवारको र इलामबासीको शिर निहुरिन दिनु भएन’, उनले भने, ‘म पनि बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु। मेरो परिवार र मैले कहिले पनि तपाईंहरुको शिर निहुरिन दिन्नौँ।’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .