ad ad

राजनीति


बुढेसकालमा राष्ट्रपति पाएकोमा पौडेल सरकारप्रति कृतज्ञ हुुनुहुन्छ : ओली

बुढेसकालमा राष्ट्रपति पाएकोमा पौडेल सरकारप्रति कृतज्ञ हुुनुहुन्छ : ओली

नेपालखबर
असोज ५, २०८० शुक्रबार १८:१९, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गरे।

‘सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिराखेको छ। अपराधी जेलमा बस्नु पर्दैन। प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ। प्रोफेसरको जिन्दगी बर्बाद भइराखेको छ। एउटा क्रिमिनलको मुद्दा नचलाउन खोज्छ। दबाब दिएर चलायो भने फिर्ता लिन्छ,’ ओलीले भने।

राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उनको भनाइ थियो। 

‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ। सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्वीकार्नु हुन्छ। अब यो स्थितिमा अब राज्यको यो ग्र्याजुएशन, विकास, गरिबी निवारणलगायतका कुराहरुमा राज्यको ध्यानै छैन’, ओलीले भने।
 

शुक्रबार पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको दोहोर्‍याए। 

‘सरकारलाई राम्रो कामको निम्ति बाध्य पार्नुपर्छ या त सत्ता परिवर्तन गर्न सक्नुपर्छ। हिंसा फैल्याउनका लागि गौरवगाथा दिवस मनाइन्छ। अनि सरकारको ध्यान कता छ भन्ने कुरा नि। मैले त्यसबेला यो नगर्नुस् भनेँ। तर उहाँहरुको साँठगाँठ अर्कातिर भईसकेको हुनाले प्रचण्डजीले मलाइ जवाफ दिनुभयो– शेरबहादुर जीसँग मेरो कुरा भइसकेको छ। म यो गर्छु। उहाँ एउटा अठोटमा पुगिसक्नुभएको थियो। नगर्नुस् भन्ने मेरो कुरो हो। म फेरिपनि नगर्नुस् भन्छु। जसले गरेपनि। तपाई यो शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन खोज्दै हुनुहुन्छ,’ ओलीले अघि भने, ‘हिंसालाई राष्ट्रिय दिवसको रुपमा बिदा मनाएर। तपाई आफ्ना कार्यकर्तालाई पैसा बाँड्दै हुनुहुन्छ। हिंसा दिवस मनाएर उन्माद चढाउँदै हुनुहुन्छ। र, शान्ति प्रक्रिया टुंगो लगाउँदै हुनुहुन्छ। यो कुरा गर्नु हुन्छ। हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने कुरा हो र? एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन, उसमाथि अन्याय र अपमानले घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ? मैले यो प्रसंग किन मात्रै भनेको हो भने सरकारको ध्यान कता छ? यतिबेला के हिंसालाई उत्सव मनाउनुपर्ने थियो र?’

फागुन १ गते माओवादी विद्रोहको शुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उहाँले सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने उल्टो बाटो लिएको बताए। 

अध्यक्ष ओलीले सरकारले ध्यान गरिबी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए। उनले सरकारले अपराध कर्ममा लागेकाहरुको मुद्दा फिर्ता लिएको भन्दै आक्रोश समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .