नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई उपलब्धिविहीन भनेका छन्।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले नेपालखबरसँगको कुराकानीका क्रममा प्रचण्डको चीन भ्रमणबाट नेपाली जनताका अपेक्षा सम्बोधन हुन नसकेको बताएका हुन्।
उनले उक्त भ्रमणका क्रममा प्रचण्ड रणनीति महत्वका साझेदारीलाई अगाडि बनाउन पनि चुकेको बताएका छन्।
ज्ञवालीले सोमबार भएका भनिएका १२ वटा सम्झौता र एउटा लेटर एक्सचेन्जलाई केबल औचारिकताको संज्ञा दिएका छन्।
प्रधानमन्त्रीले विश्वका दुई ठूला शक्तिबीचको कूटनीतिक अपरिपक्वता देखाएको पनि ज्ञवालीले बताए। अमेरिका हुँदै प्रधानमन्त्री चीन जानुलाई उनले सामान्य कूटनीतिक मर्यादा पनि ख्याल नगरिएको टिप्पणी गरे।
ज्ञवालीकै शब्दमा प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको उपलब्धि हेर्दा अपेक्षाको छेउछाउ पनि पुगेन। अहिले जुन १२ वटा सम्झौता र एउटा लेटर अफ एक्सचेन्ज भए भनिएको छ, ती केवल औपचारिकता मात्रै हुन्। रणनीतिक महत्त्वका साझेदारीका कुरालाई अगाडि बढाउन प्रधानमन्त्री चुक्नुभएको छ।
चीन जानुअघि प्रधानमन्त्री दाहाल स्वयंले जोड दिएर भन्नुभएको थियो कि नयाँ नाका खोल्ने, थुप्रै भौतिक पूर्वाधार निर्माण, चिनियाँ लगानी वृद्धि र बीआरआई कार्यान्वयनमा महत्त्वपूर्ण प्रगति हुन्छ। तर, बेइजिङमा भएका सम्झौतामा यी कुरा समेटेको देखिएन।
यी महत्त्वपूर्ण समझदारी/सम्झौता नहुनुको कारण नेपाल सरकारले नै चीनसँग साझेदारी नचाहेको भन्ने देखिन्छ। किनभने, चीन यसका लागि तयार भएर बसेको थियो।
टोखा–छहरे सुरुङमार्ग, धुलिखेल–लिपिङ डेलिगेटेड डबल लेन निर्माणलगायतमा धेरैअघि नै तयारी भइसकेको हो। खासगरी विद्युत् व्यापार सम्झौता र बीआरआई कार्यान्वयनसम्बन्धी योजनामा यसपालि ठोस प्रगति हुन्छ भन्ने अपेक्षा थियो। तर, नेपाल सरकारकै अनिच्छाका कारण हुन सकेन।
खासमा प्रधानमन्त्रीको यसपालिको चीन भ्रमण तपसिलको कार्यक्रमजस्तो बन्न पुग्यो। उहाँ अमेरिका भएर चीन भ्रमणमा जानुभयो।
सामान्यतः कूटनीतिमा दुई प्रतिस्पर्धी शक्तिका बीचमा यस खालको व्यवहार गरिँदैन। एउटा शक्तिराष्ट्रको मनोविज्ञानले प्रभाव पार्न सक्छ भन्ने मानिन्छ।
यदि अति कम विकसित राष्ट्र र दीगो विकास लक्ष्यसम्बन्धी कार्यक्रममा जानु प्रधानमन्त्रीको प्राथमिकता थियो भने पनि राष्ट्र संघको महासभामा सम्बोधनको कार्यक्रम परराष्ट्र मन्त्रीलाई जिम्मा दिएर पनि नेपाल फर्कन सक्नुहुन्थ्यो, नेपालबाटै चीन जान सक्नुहुन्थ्यो।
जुन तवरले उहाँ चीन भ्रमणमा जानुभयो र बीआरआई तथा विद्युत् व्यापार सम्झौतामा नेपाल जसरी पन्छियो, त्यसले हाम्रा प्रधानमन्त्री कतै अन्य देशको दबाबमा पर्नुभयो कि भन्ने प्रश्न गर्ने ठाउँ बनेको छ।
(पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीसँग टेलिफोनबाट लिइएको प्रतिक्रिया)
प्रतिक्रिया