ad ad

राजनीति


एमाले बागमतीको अधिवेशनमा बन्दसत्र सुरु, निर्वाचनमै जाने नेताहरुको तयारी

एमाले बागमतीको अधिवेशनमा बन्दसत्र सुरु, निर्वाचनमै जाने नेताहरुको तयारी

कमलादीमा सुरु एमाले बागमतीको बन्दसत्र। तस्बिर : नेपालखबर


नेपालखबर
असोज ९, २०८० मंगलबार ११:३२, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश कमिटी अधिवेशनको बन्दसत्र मंगलबार बिहानदेखि सुरु भएको छ। 

काठमाडौंको भृकुटीमण्डपमा सोमबार अधिवेशन उद्घाटन गरिएपछि नयाँ नेतृत्वका लागि बन्दसत्र सुरु भएको हो। 

बन्दसत्र प्रज्ञा भवन कमलादीमा भइरहेको छ। बन्द सत्रमा प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशव पाण्डेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।

एमाले बागमती प्रदेश प्रथम अधिवेशनको बन्दसत्रका लागि अध्यक्षमन्डलको अध्यक्षमा प्रदेश इन्चार्ज गुरु बराललाई जिम्मेवारी दिइएको छ।

अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि छनोट भएका छन्। छनोट भएका प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला र ४० वर्षमुनिका युवा १० प्रतिशत छन्।

एक लाख नौ हजार २३८ प्रतिनिधिबाट उनीहरु छनोट भएका हुन्। यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित एमालेको २४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत भएपछि नेतृत्व चयन प्रक्रिया सुरू हुनेछ। एमालेको बागमती प्रदेश कमिटीको नेतृत्व सर्वसम्मतीबाट चयन हुने सम्भावना छैन। 

पहिलो पटक हुन लागेको बागमती प्रदेश अधिवेशनमा नेतृत्वसहितका पदमा दुईभन्दा बढी आकांक्षी भएपछि चुनावबाटै छिनाफानो हुनसक्ने बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले बताए। 

काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ।

बन्दसत्रमा राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन पेस भएपछि चुनावी प्रक्रिया भने च्यासलमा हुने भएको छ।

अध्यक्षमण्डल 
अध्यक्ष : गुरु बराल
सदस्यहरू : शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बास्कोटा, कमल चौलागाईं, रामेस्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ्ग र रत्ना गुरुङ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .