ad ad

राजनीति


हामी मिसन ०८४ मा छौं, सरकारमा जाने कुनै चिन्ता छैन : ओली

हामी मिसन ०८४ मा छौं, सरकारमा जाने कुनै चिन्ता छैन : ओली

नेपालखबर
असोज ९, २०८० मंगलबार १८:४३, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन्।

मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो।

‘अहिलेको अवस्थामा सामान्य हिसावले हुने स्थिति छैन। सिटामल खाएर काम लाग्ने स्थिति छैन। यो रोग हट्दैन। एकछिनको ज्वरो पनि हटनेस्थिति छैन अहिलेको अवस्थामा। यसको खास उपचार नगर्ने हो भने अव जरैदेखि रोग लागेको छ,’ उनले भने, ‘माथि टुप्पोमा पातमा यसो छर्किनु भयो केही भने त्यो पातमा लागेको कीरा भए पो पातमा स्प्रे गर्दा हुन्थ्यो। जरादेखि लागेको छ भने, काण्डदेखिनै लागेको छ भने हाँगाहाँगाबाट फैलिएको छ भने त्यसको उपचार त्यसैगरी हुनुपर्छ।’

मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको टिप्पणी गरे। 

नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाइ थियो।

‘कतिपयलाई फेरी लाग्छ सक्छ यो अभिव्यक्तिले एमालेलाई सरकार जान हतार भएछ कि क्यो हो? हतार होइन। एमालेलाई सरकारपट्टी वास्ता पनि छैन, चिन्ता पनि छैन। हामी मिसन २०८४ मा लागेका छौं। चुनावकै हिसावले, सरकारकै हिसाबले भन्नुहुन्छ भने मिसन २०८४ मा लागेका छौं,’ उनले भने, ‘तर हामी के देखिरहेका छौं भने २०८४ को चुनावसम्म पुग्दाखेरी देशमा कुनै उद्योग भन्ने चिज रहन्छ? रहँदैन। सेयर बजारको क्यापिटल मार्केटको जुन कुरा भयो। त्यो मार्केट रहन्छ कि रहँदैन? यहाँ बाहिरका प्लेन आउँछन कि आउँदैनन्? हाम्रा प्लेन बाहिर जान्छन् कि जाँदैनन्?’

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएपनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको पनि बताए। 

‘अब हामी जसरी आधुनिकीकरणतर्फ जानुपर्ने, जस्तो नयाँ नेपालतर्फ जानुपर्ने, हाम्रा मुद्रा सवल हुनुपर्ने, मुद्रा सबल हुन अर्थतन्त्र बलियो हुनुप¥यो। अर्थतन्त्र बलियो हुन उत्पादन बढनुपर्ने हो। निर्यातका लागि उत्पादन बढनुपर्ने, हरेक परिवारको घाटा बजेट नहोस्,’ उनले भने, ‘त्यसका निम्ति उत्पादन बढनुपर्ने। उत्पादन बढाउने बाहेक त अर्को कुनै उपाय नै छैन। हरेक ठाउँमा उत्पादन वृद्धि। त्यसका निम्ति के कदम चालिएको छ त? के भएका छन त? केही नै भइराखेको छैन। अहिलेको अवस्थामा सरकार कसरी टिकाउने? यसैमा ध्यान छ। सरकार टिकाउने कुरामा।’ 

मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिएपनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .