ad ad

राजनीति


सामाजिक सद्‍भाव भड्काउनेलाई छाड्दैनौँ : गृहमन्त्री

सामाजिक सद्‍भाव भड्काउनेलाई छाड्दैनौँ : गृहमन्त्री

नेपालखबर
असोज १८, २०८० बिहिबार ८:१०, महोत्तरी

गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक एवं सामाजिक सद्भाव भड्काउनेलाई नछाड्ने बताएका छन्। 

सुरक्षा सम्बन्धि मधेस प्रदेशस्तरीय अन्तक्रियालाई बुधबार महोत्तरीको बर्दिबासमा सम्बोधन गर्दै श्रेष्ठले धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गरिने बताएका हुन्। 

मधेश प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको रिपोर्टिङ सुनेपछि गृहमन्त्री श्रेष्ठले भने, ‘संविधान, लोकतन्त्र, राष्ट्रिय एकताको रक्षा तथा कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सरकार प्रतिवद्ध छ। धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गरिने छ।’

उनले चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम महंगी रोक्न समेत सम्बन्धित पक्षलाई निर्देशन दिए। जनताले सुशासन तथा गुणात्मक आर्थिक समृद्धि चाहेको भन्दै श्रेष्ठले सरकारी सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउन निर्देशन दिए। 

‘शान्ति सुरक्षा चुस्त बनाउन, भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न सरकार प्रतिवद्ध छ,’ उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘सबै किसिमका विभेदको अन्त्य, जोखिम न्युनिकरण, प्रकोप पीडितको प्रभावकारी उद्धारमा सरकार प्रतिवद्ध छ।’

उनले मधेशमा मुद्दा मिलाउने भन्दै मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो आफुलाई प्राप्त भएको बताए। ‘त्यस्तो प्रवृत्ति क्षम्य हुन सक्दैन,’ श्रेष्ठले भने।

उनले प्रहरीमा महिला सेल भएजस्तै दलित सेल समेत स्थापना गर्न निर्देशन दिइसकिएको जानकारी दिए। ध्यान तथा योगले सेवामा समर्पणभाव पैदा गर्ने भएकोले त्यसलाई स्वजागरणका रूपमा आत्मसात गर्नुपर्ने उनको भनाई थियो। 

कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको जानकारी गृहमन्त्रीलाई गराएका थिए।

उनीहरु मिटरब्याज नियन्त्रण कानुन र आयोग बनेपनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपयबाट वाधा व्यवधान खडा गर्न खोजिएको बताए। 

कतिपय ठाउँमा स्थानीय तहका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या गृहमन्त्रीलाई सुनाएका छन्। 

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा भएको  उनीहरुको भनाई थियो।

प्रशासन र सुरक्षा संयन्त्रले सबै किसिमका गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई तन्दुरुस्त राखिएको ब्रिफिङ उनीहरुले गृहमन्त्री समक्ष गरेका छन्। 

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको अन्तरक्रियात्मक बैठकमा प्रदेश सरकारका मुख्यसचिव दिनेश घिमिरे, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुख ओमप्रकाश जोशीले समेत मन्तव्य राखेका थिए।

कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराई, नेपाली सेनाका मध्यपूर्वी पृतनापति उपरथि  प्रेमध्वज अधिकारी लगायतको सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .