ad ad

राजनीति


अमेरिकामा परराष्ट्रमन्त्री साउद र यूएसएआईडी प्रमुखबीच भेटवार्ता

अमेरिकामा परराष्ट्रमन्त्री साउद र यूएसएआईडी प्रमुखबीच भेटवार्ता

रासस
कात्तिक १५, २०८० बुधबार १०:१६, वासिङ्टन डिसी

अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का प्रमुख प्रशासक समान्ता पावरबीच मंगलबार भेटवार्ता भएको छ।

उक्त भेटमा नेपालको विकासका प्राथमिकतामा यूएसएआईडीका चालु कार्यक्रम र त्यसको प्रभावकारिताका विषयमा छलफल भयो।

सो अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं बलियो सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गरे। 

प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावना तथा नियोगको कार्यबारे छलफल गरे। 

यूएसएआईडीको मुख्यालय वासिङ्टन डिसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि यूएसएआईडीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। 

भेटका अवसरमा उनीहरुले ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गरे। 

सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र यूएसएआईडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ। 

उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ।

यस भेटका अवसरमा सहयोगका यी र अन्य परियोजनाका विषयमा पनि कुराकानी भएको थियो।

नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग गरिरहेको चर्चा मन्त्री साउदले गरे। 

मङ्गलबारको सो भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनलगायत दूतावासका अधिकारीसमेत सहभागी थिए। 

नेपालका विभिन्न विकास आयोजना तथा कार्यक्रममा अमेरिकी सहयोग नियोगको महत्त्वपूर्ण योगदान छ।

सन् १९५१ मा भएको ‘प्वाइन्ट फोर प्रोग्राम’ अन्तर्गतको सम्झौताअनुसार अमेरिका नेपालको पहिलो द्विपक्षीय दाताका रूपमा ७ दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण विकास साझेदार बनिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .