ad ad

राजनीति


आरके समूहले एनआरएनएको अस्तित्व नै धरापमा पार्ने गतिविधि गर्‍यो : संस्थापन पक्ष

आरके समूहले एनआरएनएको अस्तित्व नै धरापमा पार्ने गतिविधि गर्‍यो : संस्थापन पक्ष

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १८:७, काठमाडौँ

गैरआवासीय नेपाली संघ, संस्थापन पक्षले असन्तुष्ट पक्षका गतिविधि संघको अस्तित्व नै धरापमा पार्ने खालका भएको आरोप लगाएको छ।

बुधबार अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीले विज्ञप्ति प्रकाशित गरी लोकतान्त्रिक पद्धत्तिमा विजय र पराजय नियमित प्रक्रिया हो भन्दै ‘तर त्यसलाई स्वीकार्नुको सट्टा संघको २० वर्षको अस्तित्व नै धरापमा पार्ने खालका गतिविधि गर्ने र ८० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको शाख गिराउने कार्य’ गरेको आरोप लगाएका छन्।

निर्वाचनमा धाँधली भयो भन्ने उपविजयी पक्षले गरेको दाबीलाई लिएर अन्तर्राष्ट्रिय स्तरको छानबिनका लागि पटक पटक आह्वान गर्दा पनि छानबिनका लागि तयार नभएको तर स्वघोषित कमिटी गठन गरेको संस्थापन पक्षको आरोप छ।

संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२३–२५ को कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण तथा प्रमाणपत्र समेत लिई नियमित काम समेत सुरु गरिसकेको अवस्थामा निर्वाचनमा उपविजयी भएको पक्षले संघको नियमित कार्यमा बाधा पुर्याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीहरुलाई आफू अनुकुल काम गर्न दबाब दिई मानसिक रुपमा प्रताडित गर्ने, संघको नियमित कामकाजका लागि प्रयोग हुँदै आएको बैंकको खाता बन्द गर्न पत्राचार गर्ने लगायतका अत्यन्त अशोभनीय गतिविधिहरु गर्दै आएकोले  अहिले सचिवालयका कर्मचारीहरु भौतिक रुपमा कार्यालयमा उपस्थित भएर काम गर्न नसक्ने स्थिति पैदा भएको विज्ञप्तिमा उल्लेख छ।

साथै, निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुलाई पूर्वमन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिने कार्यक्रममा महाधिवेशनमा उपविजेता भएका राजेन्द्र कुमार शर्मा (आरके) को नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना लगायत व्यक्तिहरु संघको कार्यालयमा प्रवेश गरी पूर्व मन्त्री महेश बस्नेतलाई गाली गलौच गरी अनुमतिबिना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याई चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गरेको संघले आरोप लगाएको छ।

सो सम्बन्धमा नेपाल प्रहरी प्रशासनमा उजुरी गरी छानबिन र दोषी उपर कारबाहीको माग समेत गरेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .