राष्ट्रिय जनमोर्चाले प्यालेस्टाइनी जनतामाथि इजरायलले ‘अमेरिकी साम्राज्यवाद’ को आडमा कत्लेआम गरेको आरोप लगाएको छ।
प्यालेस्टाइनी जनतामाथि कत्लेआम हुँदासमेत संयुक्त राष्ट्रसंघ मौन रहे र अमेरिकाको पक्षधरता देखाएको जनमोर्चाको ठहर छ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेस्टाइनमाथि विध्वंश मच्चाइरहेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघले पक्षधरता देखाएको बताएका छन्।
‘इजरायलले खुलेआम नृसंस तारिकाबाट प्यालेस्टाइनी जनताको मानवअधिकारको उल्लंघन गर्दा पनि संयुक्त राष्ट्रसंघले इजरायलका विरुद्ध कुनै प्रभावकारी कदम चाल्न नसक्नुलाई समेत हाम्रो पार्टीले गम्भीरतापूर्वक लिंदै गम्भीर तथा संकटपूर्ण मोडमा आएर संयुक्त राष्ट्रसंघले तटस्थताको नीतिमा दृढ रहन नसक्ने तथा एक पक्षीय हुने कार्यशैलीको पनि हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
साथै, गाजापट्टी प्यालेस्टाइनी जनतामाथि भइरहेको अत्याचार तथा प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा विश्वव्यापी रुपमा आवाज उठाउनु पर्ने आवश्यकतामाथि पनि राजमोले जोड दिएको छ।
यस्तो छ,वक्तव्यको पूर्णपाठ
इजरायल तथा प्यालेस्टाइनका बिच यही अक्टुबर ७ तारेखदेखि जारी युद्धका विषयमा हामीले पार्टीको धारणा सार्वजनिक गर्दै आएका छौँ। इजरायल तथा प्यालेस्टाइन युद्धको पछिल्लो अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरेका छौँ।
१) ७ अक्टुबरका दिन हमासले इजरायलमाथि गरेको आक्रमणलाई बहाना बनाएर इजरायलले गाजापट्टीमा मच्चाइ रहेको नरसंहारलाई हाम्रो पार्टीले घोर विरोध तथा भर्त्सना गर्दछ। इजरायलले गाजापट्टीमाथि हवाई तथा स्थल आक्रमणलाई तिब्र पारेर युद्धका सामान्य नियम समेतको उल्लंघन गरेर अस्पताल, विद्यालय, आवासीय क्षेत्रमाथि समेत आक्रमण गरेर सैयौँ बालबालिका बिरामी, बृद्धबृद्धाको समेत हत्या गरेर मानवअधिकारको घोर उल्लंघन गरिरहेको छ। इजरायलले खुलेआम नृसंश तारिकाबाट प्यालेस्टाइनी जनताको मानवअधिकारको उल्लंघन गर्दा पनि संयुक्त राष्ट्रसंघले इजरायलका विरुद्ध कुनै प्रभावकारी कदम चाल्न नसक्नुलाई समेत हाम्रो पार्टीले गम्भीरतापूर्वक लिँदै गम्भीर तथा संकटपूर्ण मोडमा आएर संयुक्त राष्ट्रसंघले तटस्थताको नीतिमा दृढ रहन नसक्ने तथा एक पक्षीय हुने कार्यशैलीको पनि हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ।
२) अमेरिकी साम्राज्यवादको आड भरोसा र बलमा इजरायलले गाजापट्टी नरसंहार मच्चाइरहेको कुरा कसैबाट लुकेको छैन। अमेरिकी साम्राज्यवादले मध्यपूर्वको तेलमाथि कब्जा गर्न तथा उनीहरुमाथि आक्रमण गर्नका लागि भूमि प्रयोग गर्न मध्यपूर्वका केही मुलुकमा आफ्नो कठपुतली सरकार सञ्चालन गर्दै आएको छ। इजरायल सरकार अमेरिकाको साम्राज्यवादी स्वार्थ पुरा गर्ने कठपुतली सरकारको रुपमा कार्य गरिरहेको छ। त्यसैले अमेरिकाले इजरायलद्वारा गाजापट्टीमा भइरहेको अमानवीय कार्य र वर्वर आक्रमणलाई समर्थन गरिरहेको छ। हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादको इजरायललाई गाजापट्टीमाथि आक्रमण गर्न बल दिने अमेरिकी साम्राज्यवादी कार्यको पनि भर्त्सना गर्दछ।
३) प्यालेस्टाइनी जनताले आफ्नो मातृभूमि मुक्त गर्न चलाइरहेको राष्ट्रिय मुक्ति आन्दोलनलाई हाम्रो पार्टीले शुरुदेखि नै समर्थन तथा त्यस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आएको छ। अहिले पनि हामी त्यो नीतिमा दृढ छौँ। तर प्यालेस्टाइनी जनताको राष्ट्रिय मुक्ति आन्दोलनको वास्तविक प्रतिनिधित्व हमासले गर्न नसक्ने र त्यो एउटा कट्टर इस्लामिक संगठन भएको कुरामा पनि हामी स्पष्ट नै छौँ। हमासले सर्वसाधारण तथा निशस्त्र जनतामाथि कारबाही गर्ने तथा बन्धक बनाएका नागरिकलाई हत्या गर्ने अमानवीय कार्य गर्ने गरेको छ। त्यस प्रकारका कारबाही एउटा आतंकवादी कारबाही भएकोले त्यस प्रकारको आतंकवादी कारबाहीको पनि हाम्रो पार्टीले कडा शब्दमा विरोध तथा भत्र्सना गर्दछ। हमासका आतंकवादी कार्यप्रणालीका कारण नै इजरायललाई गाजापट्टी माथि आक्रमण गर्ने बहाना प्रदान गरेको छ। तर त्यसको अर्थ हमासले इजरायलमाथि गरेको कारबाहीका विरुद्ध प्यालेस्टाइनी जनतामाथि इजरायलको कारबाही उचित वा न्यायपूर्ण थियो भन्ने दावीलाई समेत हामीले अस्वीकार गर्दछौँ।
४) इजरायल प्यालेस्टाइन बिचको युद्धका कारण दुइटै पट्टीका हजारौं जनता विस्थापित भएर वा सुरक्षाका कारण अरबका विभिन्न मुलुकमा शरणार्थी भएर जानु परेको छ। त्यसको असर अरबका साथै युरोपियन मुलुकमा समेत परिरहेको छ। जसको परिणाम अरब तथा युरोप शरणार्थीको विषयमा थप अनुदार हुँदै गएका छन्। शरणार्थी समस्याका कारण युरोपको राजनीतिमा समेत कैयौँ नकारात्मक परिवर्तन देखिएका छन्। त्यसबाट त्यहाँका कतिपय मुलुकका जनता फासिवादी शासनबाट समेत पिल्सीने खतरा बढेर गएको छ । प्यालेस्टाइन इजरायल समस्याको मुल जड नै हिटलरको फाँसीवाद हो भन्ने कुरा कसैबाट लुकेको छैन।
५) इजरायल र प्यालेस्टाइन बिच जारी युद्धबाट सृजित समस्या इजरायल तथा गाजापट्टीका जनताको मात्र समस्या नभएर सम्पूर्ण विश्व समुदायको समस्या हो। इजरायल र प्यालेस्टाइन बिचको युद्धले सम्पूर्ण विश्वको मानवजातिलाई नै आघात पुर्याउने भएकाले त्यसलाई सम्पूर्ण मानवजातिको समस्याको रुपमा लिनु र हेर्नु पर्दछ।
६) अन्तमा, गाजापट्टी प्यालेस्टाइनी जनतामाथि भइरहेको अत्याचार तथा प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा विश्वव्यापी रुपमा आवाज उठाउनु पर्ने आवश्यकतामाथि हाम्रो पार्टीले जोड दिन्छ। त्यसैले गाजापट्टीमा अमेरिकी साम्राज्यवादको बलमा इजरायलबाट भइरहेको बर्बर आक्रमणको विरोध तथा प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनका पक्षमा देशव्यापी रुपमा आवाज उठाउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग अपिल गर्दछौं।
धन्यवाद!
२०८० कार्तिक १६ गते
चित्रबहादुर केसी
अध्यक्ष
Shares
प्रतिक्रिया