सञ्चारकर्मी गीता चिमोरियाले ठट्टा गर्दै केही दिनअघि फेसबुकमा लेखेकी थिइन्– ‘अनि के, यो मंसिरमा ‘राजा’ आउने नै भए त! एक ‘राजकुमारी’ आफैलाई प्रश्न गर्दै!’
आफ्नो अविवाहित स्थितिलाई आधार बनाएर समसामयिक राजनीतिप्रति गजबको व्यङ्ग्य गरेकी थिइन्, चिमोरियाले। खासमा उनको निसाना पूर्वराजा ज्ञानेन्द्र शाहप्रति थियो, जो यतिबेला राजतन्त्र पुनर्स्थापना र आफू जीवनमा तेस्रो पटक राजा हुने आशमा बसिरहेका छन्।
तर, पूर्वराजा शाहले चाहेजस्तो दुर्गा प्रसाईंहरुको बलमा राजतन्त्र पुनर्स्थापना हुनेछैन, उनी तेस्रो पटक राजगद्दी चढ्न पाउने छैनन्।
किनभने काठमाडौँको सत्ता पाँच कारणले परिवर्तन भएको इतिहास छ। एक– युद्ध र सशस्त्र संघर्षबाट। दुई– शासकहरुबीचको मारकाटबाट। तीन– जनक्रान्तिबाट। चार– चुनावी प्रक्रियाबाट। र, पाँच– जबर्जस्ती किसिम(कू)ले।
विगतमा पनि ठुल्ठूला आन्दोलनका नाममा झापा–कञ्चनपुरबाट धेरै पटक काठमाडौँमा मान्छे त ओसारिएका छन्। तर, बाहिरबाट ओसारिएका मान्छेका बलमा हुने आन्दोलनले सत्ता पल्टाउन सकेका छैनन्।
यो मंसिरमा एउटा कुरा पक्का हुनेछ– यो महिना लगन जुरेका हजारौँ हजारौँ युवा–युवतीले मनका ‘राजा’ र ‘रानी’ हुन अवश्य पाउनेछन्। तर ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने अवसर जुर्ने छैन।
त्यसो भए ज्ञानेन्द्र शाह हुन्छन् के त!
उनी हुनसक्ने राजतन्त्र पुनर्स्थापनाको नाममा कथित राजावादीहरुको ‘मोहरा’ मात्रै हो। कथित राजतन्त्र पुनर्स्थापनावादीहरुले व्यक्तिगत स्वार्थको रोटी सेक्न मात्र विगत १५ वर्षदेखि उनलाई ‘मोहरा’ बनाउँदै आएका छन्।
२०६२–०६३ को आन्दोलनबाट ज्ञानेन्द्र गद्दीबाट ओरालिए। सँगसँगै कमल थापाहरुको सत्ता पनि गुम्यो। तिनै थापाले लगत्तै हिन्दूराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीतिमा उठ्न खोजे।
थापाको यो प्रयाससँगै पूर्वराजा शाहले शरीरमा लागेको धुलो टक्टक्याउने प्रयास गरे। राजतन्त्र पुनर्स्थापनाको माहोल सिर्जना गर्न पाँच वर्ष (२०६७–०७२) लगातार देश दौडाहामा निस्के।
थापाको ‘हिन्दूराष्ट्र’ र ‘राजतन्त्र’ पुनर्स्थापनाको नाराको उदेश्य के थियो, त्यो प्रष्ट हुन धेरै वर्ष कुर्नु परेन।
२०७० को निर्वाचनमा थापा नेतृत्वको राप्रपा नेपाल दोस्रो संविधान सभाको चौथो ठूलो दल बन्यो। संविधान सभामा राप्रपा नेपालको २६ सिट थियो।
त्यस कालखण्डमा उनीसँग अन्तर्वार्ता लिने पत्रकारहरुले ‘नेपालको इतिहासमा शासन गरेकामध्ये कुन चाहिँ राजवंश (गोपाली, लिच्छवी, मल्ल वा शाह) पुनर्स्थापना गर्ने हो र पुनर्स्थापनापछि राजा को बन्ने हो भन्ने प्रश्न गर्थे।
‘नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था,’ अध्यक्ष थापाको जवाफ हुन्थ्यो, ‘र, हामीले गद्दीमा बसाल्ने शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई नै हो।’
तर, उनको राजतन्त्र पुनर्स्थापनाको एजेन्डा भोट र सत्ताका लागि थियो भन्ने कुरा संविधान जारी भएलगत्तै पुष्टि भइहाल्यो।
संविधान सभाबाट संविधान जारी भएपछि र ०७४ को आम निर्वाचनअघिका (केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा नेतृत्वका) सरकारमा उनी लगातार उपप्रधानमन्त्री बने।
कमल थापाले आफूलाई मोहरा मात्र बनाएको जब पूर्वराजा ज्ञानेन्द्रले बुझे, त्यसपछि निर्मल निवासले थापाको विकल्पमा राजेन्द्र लिङ्देनलाई अघि सा¥यो। यो कुराको खुलासा तिनै थापाले गरेका हुन्।
हाल राप्रपा अध्यक्ष रहेका लिङ्देन पनि यसबीचमा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनिसकेका छन्। अर्थात्, उनले पनि आफूलाई ‘कमल थापाका नयाँ अवतार’ प्रमाणित गरिसकेका छन्। त्यो पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनामा!
ओलीले अनुरोध गरेपछि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका थिए उनी। एमालेले सरकार छाड्ने भएपछि लिङ्देनले प्रचण्ड नेतृत्वको सरकार छाडिहाले।
‘राजतन्त्र पुनर्स्थापना’ र पुनर्स्थापनापछि ‘ज्ञानेन्द्रलाई गद्दीमा बसाल्न’ यतिबेला विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं तम्तयार छन्। र, राप्रपाभित्र निर्मल निवासको ढाप पाएका भनिएका डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले प्रसाईंलाई साथ दिएका छन्।
के कुरा बुझ्न जरुरी छ भने थापा र लिङ्देनले आफ्नो स्वार्थका लागि पूर्वराजा शाहलाई ‘मोहरा’ बनाएको कुरा पछि मात्र देखिएको हो। ज्ञानेन्द्र ‘भर्सेला’ मा परे–परुन् भन्दै ‘गणतन्त्रवादी सरकार’ को उपप्रधानमन्त्री बनेपछि यो कुरा पुष्टि भएको हो।
प्रसाईंको अभियानको उदेश्य भने पहिले नै प्रष्ट छ। १ फागुन (०७९) मा मेचीनगरमा आयोजित कार्यक्रममा पूर्वराजा शाहलाई सँगै राखेर उनले ब्याङ्कहरुबाट लिएको अर्बाैं रुपियाँ ब्याज नतिर्ने उद्घोष गरिसकेका हुन्।
यति प्रष्ट उदेश्य हुँदाहुँदै डा. लोहनी र मिश्रजस्ता पात्र समेत प्रसाईंको पछि लागेका छन् भने ‘अबचाहिँ गद्दीमा फर्कन पाइने भयो’ भन्दै निर्मल निवासको आँगनमा बसेर पूर्वराजा शाहले जुँगामा ताउ लगाइरहेका नहोलान् भन्न सकिन्न।
गद्दी छाडेपछि उनी असल नागरिक बनेका थिए। जनताको बीचमा जाँदा उनले पाएको सम्मान ‘असल नागरिक’ का रुपमा थियो। तर, थापा र लिङ्देनले उनलाई आफ्नो स्वार्थ सेक्ने मोहरा बनाइदिए।
राजनीतिक चालबाजी नबुझ्दा उनी गोटी बने। ‘कठै’ सहितको सहानुभूतिका लागि उनी योग्य छन्।
तर, प्रसाईंको चालबाजी प्रष्ट हुँदाहुँदै फेरि राजा बन्ने भएँ भन्दै जुँगामा ताउ लगाएर बस्छन् भने भन्नैपर्ने हुन्छ– उनी सिर्फ ‘मोहरा’ मात्रै बन्ने हैसियतका व्यक्ति रहेछन्।
जस्तो किः २००७ मा राणा शासनका अन्तिम प्रधानमन्त्री श्री ३ मोहन शमशेरले आफ्नो शासन लम्ब्याउन उनलाई राजगद्दीमा बसाएका थिए। त्यतिबेला त उनी नबुझिकनै मोहन शमशेरको मोहरा बनेका थिए। तर अहिले उनी जानीजानी व्यावसायिक रुपमा डुब्न लागेका दुर्गा प्रसाईंको मोहरा बनिरहेका छन्।
Shares
प्रतिक्रिया