मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र बचाउ महाअभियान’ को पहिलो दिन पूर्वनिर्धारित कार्यतालिका बिथोलिएको छ।
प्रशासनले प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्वनिर्धारित तालिका बिथोलिएको हो।
उपत्यकाका विभिन्न ८ ठाउँबाट आएको र्याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यतालिका बनेको थियो।
सोही सभामा दुर्गा प्रसाईं, केशव पोखरेल र रमा सिंहले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको थियो।
तर, प्रदर्शनमा प्रहरीसँगै झडप भएपछि प्रसाईं पक्षको सभा नभएको हो।
अन्तिम क्षणमा त्यसलाई रोकेर अभियानका अध्यक्षमण्डलका संयोजक दुर्गा प्रसाईंले कोणसभामा सम्बोधन गरेर आजको प्रदर्शन टुंगो लगाउने बताए। उनले भोलिदेखि आन्दोलन निरन्तर अघि बढ्ने दाबी गरे।
उनका अनुसार नेपाल बन्द सम्मको कार्यक्रम तय हुनसक्छ।
‘आज प्रशासनले धरपकड र अश्रुग्यास प्रहार गरेर घाइते बनायो, म यहाँ कोण सभा गरेर भक्तपुर निवासबाट पत्रकार सम्मेलन गरेर थप जानकारी दिन्छु,’ प्रसाईंले नेपालखबरसँग भने, ‘अब प्रदर्शन जारी रहन्छ। सहरबाट सुरु भएको यो विद्रोह रोकिँदैन।’
प्रहरीले लगाएको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रसाईं पक्षका प्रदर्शनकारीमाथि प्रहरीले धरपकड गरेपछि प्रदर्शनकारी तितरवितर भएको छ।
बिहीबार दिउँसो नेकपा एमाले निकट युवा संघसँग प्रसाईं पक्षधर प्रदर्शनकारीबीच झडप भएको थियो। २० मिनेटको झडपपछि प्रसाईंको कार्यक्रम हुने नहुने यकिन थिएन।
तर, प्रसाईं आँफै बल्खु पुगेपछि प्रदर्शन फेरि सुरु भएपनि औपचारिक कार्यक्रम भने भएन।
प्रसाईंले आफ्नो कार्यक्रम सफल भएको दाबी गरे। उनले घोषणा गरेको प्रदर्शनमा हजारौं सहभागी भएका छन्।
Shares
प्रतिक्रिया