नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले सत्ताबाहिर छन्। प्रमुख प्रतिपक्षी दलको नेता भएकाले सत्तालाई खबरदारी गर्नु उनको कर्तव्य र धर्म दुवै हो।
त्यसो त,सत्ता प्राप्तिको चाहना राख्नु उनको दोष होइन, संसदीय प्रजातन्त्रले दिएको हक नै हो। तर, ओलीले तत्कालका लागिभन्दा २०८४ को चुनावतर्फ अर्जुनदृष्टि लगाएका छन्।
एमाले कार्यकर्ताको मुखमा ‘मिसन ८४’ झुण्ड्याउन सफल अध्यक्ष ओली त्यही पूरा गराउन संगठन निर्माणमा आफैं जुटेका छन्।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको र पाँचथरको चिवाभञ्याङमा सकिने ‘संकल्प यात्रा’को नेतृत्व उनैले गरिरहेका छन्।
त्यही यात्राको क्रममा बिहीबार उनी बागलुङ–पर्वत हुँदै कास्की आइपुगे। नवौँ दिनमा कास्की आइपुगेका उनको भव्य स्वागत भयो।
अध्यक्ष ओली राति अबेरसम्म भेटघाटमा व्यस्त भए। शुक्रबार बिहान पुष्पलाल श्रेष्ठको शालिकमा माल्यापर्ण गरे, अनि अमरसिंहचोक–बेगनासताल–रुपा गाउँपालिका हुँदै कास्कीबाट बाहिरिए।
ओलीका लागि पोखरा नौलो ठाउँ होइन। कास्की कारागारमा बिताएका क्षणहरु र त्यहाँ भेट भएका साथी उनी अहिले पनि सम्झिन्छन्।
त्यही सम्बन्धका कारण पार्टीभित्र अल्पमतमा हुँदा पनि यो क्षेत्रका एमाले नेता–कार्यकर्ताले ओलीलाई नै नेता माने।
कतिसम्म भने २०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा सम्पन्न एमालेको सातौँ महाधिवेशनमा ‘पार्टी जीवनको प्रजातान्त्रीकरणसम्बन्धी धारणा र विधानहरु संशोधन मस्यौदा प्रस्ताव’ पेश गर्दा पनि यो क्षेत्रको ठूलो पार्टी पंक्तिले ओलीको पक्ष लियो।
भलै, माधवकुमार नेपाल महासचिव चुनिएको उक्त महाधिवेशनमा उनको प्रस्ताव स्थगित भयो। त्यसपछिका बुटवल होस् वा काठमाडौं महाधिवेशन गण्डकीले ओलीलाई साथ दिइरह्यो।
२०७८ मंसिरमा चितवनमा भएको १० औँ महाधिवेशनले त ओलीलाई सर्वशक्तिमान र पार्टीको एकमात्रै नेताका रुपमा उभ्याएपछि उनको विरोध कसले गर्ने? सिंगो कास्कीमा ओलीको जयजयकार भयो।
जयजयकारकै बीच अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग यात्रा संगठन निर्माणकै लागि भएको जानकारीमात्र गराएनन्, पोखराको सौन्दर्यको प्रशंसा पनि गरे।
गण्डकी क्षेत्रको कला, साहित्य, संगीतको विषयमा चर्चा गरेपछि उनले कुनै समय पोखरा सुन्तलाकै लागि प्रसिद्ध रहेको सम्झिए भने यहाँ फल्ने जेठोबुढो धानको तारिफसमेत गरे।
मन्तव्य सकिएपछि अध्यक्ष ओलीलाई स्थायी कमिटीका सदस्य खगराज अधिकारीले मायाको चिनो टक्र्याए भने पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सारंगी उपहार दिइन्। सारङ्गी हातमा परेपछि ओली मुस्कुराए अनि रेटे। सारङ्गीबाट झङ्कार त निस्यो, तर ताल मिल्ने कुरा भएन!
सारङ्गी हात पर्नुअगावै ओलीले यात्राको उद्देश्य मीठै भाकामा भट्याइसकेका थिए भने सत्ता गठबन्धनको उछितो पनि काढेकै थिए।
उनले भनेका थिए,‘अहिले जनतासँग भेटघाट गर्ने, पाटीपंक्ति जनताको बीचमा जाओस्,अनि सचेत संगठित गराओस् आन्दोलित गराओस्, राजनीति मात्र होइन, अब विकास निर्माण र जनजीविकाका सवालमा पनि पार्टीले नेतृत्व गरोस् भन्ने सन्देश जनता र पार्टीपक्ति दुवैमा दिनको लागि हो।’
यात्राका क्रममा भेटघाटमार्फत् समस्या बुझ्ने, सुन्ने अनि माग संकलन गर्नेमात्रै नभएर समाधान कसरी गर्ने भन्ने चिन्तन-मनन गरिएको उनको भनाइ थियो। यात्राका क्रममा देखेका, भोगेका, सुनेका, सबै विषयको टिपोट भएको पनि उनले बताए।
त्यही क्रममा उनले सत्ता गठबन्धनका दलहरूको काम एमालेको खेदो खन्नुमात्रै रहेको आरोप पनि लगाए। वर्तमान सरकारको ध्यान विकास निर्माणमा नभएको उनको जिकिर थियो।
‘एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भइसक्यो, भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामीबाहेक सबै एकजुट भएर लागेकै छन्, उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, विकास निर्माण होइन,’ उनले भने,‘जनताकासँग सरोकार छैन, राष्ट्रियताको सवालमा उनीहरु शीर निहुर्याउँछन्।’
अहिले देखिएको अवस्थामा सुधार ल्याउन एकल बहुमत आवश्यक पर्ने भएकोले एमालेले मिसन ८४ अगाडि बढाएको उनले खुलाए।
एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दो अवस्थाको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउँदै पनि उनको जिकिर थियो।
‘मिसन ८४ किन अगाडि बढाइयोभन्दा 'समृद्ध नेपाली सुखी नेपाली' बनाउन हो, देशको सम्पूर्ण क्षेत्रको अहिलेको दयनीय तथा ओरालो लाग्दो अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउन एमालेको एकल बहुमत आवश्यक छ,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ।’
Shares
प्रतिक्रिया