नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ भएको दाबी गरेका हुन्।
‘म के कुरा दाबाका साथ भन्नसक्छु, मेरो दाबा गलत हुनसक्छ कि एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ, त्यो रातारात अहिले भएको होइन। यसमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभइकन यी प्रकरणहरू भएको छैन,’ सांसद थापाले भने, ‘यो गलत हो भन्ने कुरा लागेको भए सरकारलाई, सिधा कारबाहीको कुरामा जानुपथ्र्यो। किनभने करको विषय भनेको त यति धेरै अधिकार दिएको आयकर ऐनले पनि, कर अधिकृतले पनि त्यसको बारेमा टुंगो लगाउन सक्छ।’
उनले राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग र भरोसा बिना एनसेलको शेयर खरिद बिक्री नभएको बताए।
साथै, उनले सरकारले छानबिन समिति बनाएको अवस्थामा सो समितिको काम, कारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले हेर्नुपर्ने बताए।
‘मन्त्रिपरिषद्ले निर्णय गरेर समिति बनाएको छ। अब बल समितिको कोर्टमा छ। समितिले हेर्छ। त्यो समितिले ठिक ढंगले काम गर्छ कि गर्दैन? समितिको बनोटदेखि आफैँमा ठिक छ कि छैन? यसलाई ढाकछोप गर्न पो समितिले लिएर जाने हो कि? यो सबै फुस्सा बनाउनेतिर पो जाने हो कि भन्ने हो कि? यसलाई कसले हेर्छ त?,’ थापाले प्रश्न गर्दै भने।।
छानविन समितिले यो प्रकरणलाई ढाकछोप गर्नसक्ने भन्दै त्यसको अनुगमन संसदीय समितिले गर्नुपर्ने बताउँदै उनले सो प्रकरणको ढाकछोप हुन खोजे संसदीय समितिले सो प्रयत्नलाई तोड्नुपर्ने धारणा राखे।
‘सरकारले समिति बनाएर हेरेको हुनाले त्यो समितिलाई त्यसले ठिक ग¥यो कि गरेन, ठिक ढंगले गयो कि गएन? न्यायोचित ढंगले हेर्नेगरी गएको छ कि छैन भनेर हेर्ने काम हाम्रो हो। यो विषय हाम्रो क्षेत्राधिकारभित्र आयो,’ उनले भने।
सांसद थापाले प्रमुख प्रशासकिय अधिकृतहरु नहुँदा स्थानीय तहको प्रभावकारितामा ठूलो असर परिरहेको भन्दै यसतर्फ संघीय सरकार गम्भिर हुनुपर्ने पनि बताए।
Shares
प्रतिक्रिया