ad ad

राजनीति


कांग्रेस बैठक : सरकारको कामदेखि सहकारी ठगीसम्मका मुद्दा नेताहरूले उठाए

राष्ट्रियसभामा कसैलाई अन्याय हुन नदिन आग्रह
कांग्रेस बैठक : सरकारको कामदेखि सहकारी ठगीसम्मका मुद्दा नेताहरूले उठाए

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १७:९, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सानेपामा सुरु भएको छ। बिहीबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा राखेका छन्।

एजेन्डा राखिएसँगै बैठकमा नेताहरूले आफ्ना भनाइ राखिरहेका छन्। बिहीबार स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्नो मन्त्रालयको रिपोर्टिङ बैठकमा गरेका छन्।

बैठकमा शुक्रबार कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूले रिपोर्टिङ गर्नेछन्।

बैठकमा सहभागी नेता मीनबहादुर विश्वकर्माले मुख्य पाँच एजेन्डा तय भएको बताएका छन्।

उनका अनुसार माओवादी नेतृत्वको गठबन्धन सरकारबारे समीक्षा हुनेछ। त्यसैगरी पार्टीको सांगठानिक गतिविधिबारे पनि बैठकमा छलफल हुने तय भएको उनले बताए।

बैठकमा आगामी फागुनका लागि तय भएको महासमिति बैठकको तयारीबारे पनि कुरा हुने उनले बताए। 

त्यसैगरी यही पुस १६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने राष्ट्रिय मेलमिलाप दिवसबारे पनि कुरा हुँदैछ। उक्त कार्यक्रममा पहिलो पटक राष्ट्रिय राजनीतिक दलसँग छलफल हुने विश्वकर्माले बताए।

कांग्रेसले बैठकमा माघ ११ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनबारे पनि चर्चा गर्ने भएको छ। त्यसैगरी पुस १६ गतेदेखि गर्न लागिएको समुदायमा कांग्रेस कार्यक्रमको तयारी पनि बैठकको एजेन्डामा छ।

तिनै एजेन्डाअनुसार सरकारमा रहेका मन्त्रीहरूले पार्टी केन्द्रीय कार्यसमितिमा जानकारी गराउने भएका छन्। विश्वकर्माका अनुसार मन्त्रालयको गतिविधिबारे सबै मन्त्रीले शुक्रबार आफ्नो रिपोर्टिङ पेश गर्नेछन्। 

‘पार्टी संगठन कसरी गइरहेको छ। पार्टीका जिल्लाका समस्याहरू प्रस्तुत भएका छन्’, उनले भने, ‘राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनौट गर्दा सबैलाई न्याय होस् भन्ने कुरा आएको छ। कोही दोहोरिने, कोही अन्यायमा परिरहने नहोस्।’

कांग्रेसप्रति फरक सोच ल्याउने गरी महासमितिले निर्णय पास गर्नुपर्ने कुरा पनि नेताहरूले उठाएका छन्। ‘पार्टी गतिविधि सुस्त भएकाले चलायमान बनाउनुपर्छ भन्ने सुझाव आएको छ’, उनले भने, ‘सहकारीमा भएको अपचलन, अनियमितता र ठगी जस्ता विषय उठेका छन्। यो समस्या कोभिडपछि उठेको हो। कतिपय सहकारी आर्थिक मन्दीका कारण अप्ठ्यारोमा परेका थिए। तर ठूला सहकारीहरू नियतवश नै जनताको पैसा खान लागे भन्ने आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .