ad ad

राजनीति


नारायणहिटीलाई रामापिथेकसदेखि शाह वंशसम्मको म्युजियम बनाउन माधव नेपालको प्रस्ताव

नारायणहिटीलाई रामापिथेकसदेखि शाह वंशसम्मको म्युजियम बनाउन माधव नेपालको प्रस्ताव

नेपालखबर
पुस १९, २०८० बिहिबार १७:४४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताएका छन्।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री नेपालले संग्रहालयमा रामापिथिकसदेखि शुरु गरेर नेपालमा शासन गर्ने शासकहरु गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताए। २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि राम्रो हुने बताए।

उनले भने, ‘हामीकहाँ जुन नारायणहिटी छ, त्यो नारायणहिटीलाई एउटा ग्राण्ड म्युजियम बनाऔँ। त्यो ग्राण्ड म्युजियम बनेको नेपालको जहिलेदेखि नेपाल देशको बारेमा नेपालको बारेमा अस्तित्वमा आयो, वा मानव जातीको अस्तित्व देखियो, त्यो रामापिथिकसदेखि शुरु गरेर जतिपनि नेपालमा शासन गर्ने शासकहरु छन्, गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह हुन्, सबै गरेर २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी हामीले बनायौँ भने पूरा दुई, तीन दिन अध्ययन गर्न सकिन्छ। संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन्।’

अध्यक्ष नेपालले गणतन्त्र सम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्ने बताए। उनले लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदानका गाथाहरु त्यसमा लेखिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .