राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सत्ता गठबन्धनका दलबीच आज बिहानको बैठकमा पनि सहमति जुटेन।
सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार एकपटक आआफ्ना पार्टीका बैठक बसेर छलफल गर्ने र आजै पुनः गठबन्धनको बैठक राख्नेगरी बिहानको बैठक सकिएको हो।
यस क्रममा अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भइसकेको जानकारी पनि उनले दिए। यसैगरी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि आफ्नो पार्टीको सचिवालय बैठक जारी रहेको जानकारी दिए।
‘क्लस्टरमा मिलाउँदाखेरि कतिपय जटिलता देखिएपछि गठबन्धनले बिहान निर्णय गर्न नसकेको हो’, माओवादी महासचिव गुरुङले नेपालखबरसँग भने।
उनका अनुसार मतदातको अनुपातमा कांग्रेसले दाबी गरेको तर यसमा एकीकृत समाजवादी असहमत भएपछि मिलाउने प्रयास जारी छ।
एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले भने हिजैको खाकाभन्दा दायाँबायाँ नभएकाले कुरा नमिलेको बताए।
कुरा मिलेन, हिजो बेलुका जे हो, त्यही ठाउँमा छ, पाण्डेले नेपालखबरसँग भने, ‘आआफ्ना पार्टीका बैठक बसेर समझादरीमा पुग्छौँ।’
शनिबार बसेको बैठकमा कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिनेगरी सहमतिको खाका बनेको छ। तर यसमा एकीकृत समाजवादी असन्तुष्ट छ।
तर गठबन्धनका दलहरू कांग्रेसलाई १०, माओवादीलाई ६, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिनेगरी सहमति नजिक पुगेको दाबी गरिएको छ।
आगामी फागुन २० गते कार्यकाल सकिने राष्ट्रिय सभाका २० सदस्यमध्ये १९ जना चुनावबाट र एकजना राष्ट्रपतिबाट मनोनयन गरी रिक्त स्थान पूरा गरिँदै छ। मनोनयन गरिने एक जना गठबन्धनका कुन दललाई दिने भन्ने विषयमा पनि निर्णय गर्न बाँकी छ।
यी हुन् फागुन २० गते बिदा हुने २० सदस्य
आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। जसमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र निर्वाचित सदस्य छन्।
जसअनुसार एमालेका गणेशप्रसाद तिमिल्सिना (अध्यक्ष) दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दिलकुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल हुन्।
यस्तै फागुन २० गते नेपाली कांग्रेसका अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) पनि राष्ट्रिय सभा सदस्य पदबाट बिदा हुँदै छन्।
यसैगरी नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) को कार्यकाल सकिँदै छ।
यस्तै एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली) र सिंगबहादुर विश्वकर्मा (बागमती) को कार्यकाल पनि फागुन २० मा सकिँदै छ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) की प्रमिला कुमारी (मधेश प्रदेश) र बागमती प्रदेशबाट स्वतन्त्र रूपमा निर्वाचित खिमलाल देवकोटाको कार्यकाल पनि सकिँदै छ।
राष्ट्रिय सभाका कूल ५९ सदस्यमध्ये गोला प्रथाबाट एकतिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइ सदस्यको २ वर्ष कार्यकाल निर्धारण गरिएको थियो। फागुन २० गते ६ वर्षेवाला २० सदस्यको कार्यकाल पूरा हुने भएको हो।
Shares
प्रतिक्रिया