ad ad

राजनीति


प्रधानमन्त्रीले भने : क्रमभंग हुन थाल्यो, एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछु

प्रधानमन्त्रीले भने : क्रमभंग हुन थाल्यो, एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछु

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २३, २०८० सोमबार १८:१, काठमाडौँ

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन्। 

आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको पनि उनले जिकिर गरे। 

सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताए। 

बैठकमा नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा जाने तयारी गरिएको बताउँदै प्रधानमन्त्रीले त्यो २१ औं शताब्दीको जनवादकै नयाँ रूप भएको स्पष्ट पारे। 

'आज दिनभर सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभंग गर्नेबारे छलफल भएको छ। बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव नभएकाले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ। आजबाट त्यसको थालनी भएको छ', उनले भने, 'नीति तथा कार्यक्रम प्रस्तुत भएपछि व्यापक बहस हुन्छ, त्यसका आधारमा बजेट बन्छ। यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो। सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनता र जनप्रतिनिधिको निगरानी, नियन्त्रण र हस्तक्षेप चाहिने भएर यो विधि अपनाउँदैछौं। हामीले २१ औं शताब्दीको जनवादमा भनेका थियौं– राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौं, यो पनि आफैँमा त्यसको एक रूप हो।'

सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष थप प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्रीले स्पष्ट पारे।

‘सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको छ। केही नयाँ चीज भएको छ, केही नयाँ रेकर्ड बनेको छ। इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि त्यस्तै पहल लिइएको छ’, उनले भने, ‘यसले देशभित्र र बाहिर राम्रो उत्साह पनि आएको छ। यसमा नै टेकेर आगामी वर्ष थप राम्रो गरिनेछ, यसमा सिंगो पार्टीले सरकारलाई सहयोग गर्नुस्।’

प्रधानमन्त्री प्रचण्डले छिटै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसले पार्टी थप व्यवस्थित बन्ने बताए।

‘पार्टी विधानको मस्यौदा तयार भएको छ। छिटै स्थायी समितिको बैठक बस्छौं र विधान तल्ला कमिटीहरूमा पठाउने निर्णय गर्छौं’, उनले भने, ‘विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ। यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्नेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .