ad ad

राजनीति


प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएको छ, गठबन्धन पाँचै वर्ष जान्छ : वर्षमान पुन

प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएको छ, गठबन्धन पाँचै वर्ष जान्छ : वर्षमान पुन

नेपालखबर
माघ ६, २०८० शनिबार १८:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन्। 

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच शनिबार काठमाण्डौंको गोकर्णमा भएको अन्तक्र्रियामा पुनले निश्चित राजनीतिक उद्धेश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि हुने अवस्था नरहेको बताए।

संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन मुलुकको अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

पुनले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न  लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प नरहेको उल्लेख गरे।

‘यो संविधानको रक्षा र कार्यान्वयनका लागि बनाइएको गठबन्धन हो’, पुनले भने, ‘यो कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई नेपालको अहिलेको आवश्यकता हो। बामपन्थी–प्रगतिशील र लोकतान्त्रिक शक्ति नमिली नेपालले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न सक्दैन।’

गठबन्धनमा लामो समय मुलुकको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि संघर्ष, त्याग र बलिदानको पृष्ठभूमिबाट आएका दलहरु रहेको उनले बताए।

१२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरुको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए।

‘हाम्रो यो गठबन्धन चुनावी जितहारका लागि वा नेताहरुको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्धेश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन्। संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरु खडा गरिए। ती अवरोधहरु पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो।’ 

आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन आवद्ध दल र ती दलका प्रमुख नेताहरुको विश्वास जितेका कारण पनि गठबन्धन पाँचै वर्ष जाने आधार तयार भएको पुनको भनाइ थियो।

पुनले सरकारले संसदको हिउँदे अधिवेशनमा संघीय निजामती र संघीय प्रहरी ऐन पारित गर्ने गरी गृहकार्य गरिरहेकाले संघीयता कार्यान्वयनमा भएको बिलम्ब चाँडै हट्ने बताए। नेपाल संघीयताको नयाँ अभ्यासमा रहेको र संघीयताको चरित्र समन्वयात्मक रहेको भन्दै पुनले मुख्यमन्त्रीहरुको असन्तुष्टि छिट्टै सम्बोधन हुने गरी प्रधानमन्त्रीले काम अघि बढाएको उल्लेख गरे।

पुनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र संघीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए।

उनले स्थानीय तहमा संघीयताको अभ्यास गर्ने क्रममा धेरै राम्रा अनुभवहरु हासिल भएका र जनताले प्रभावकारी सेवा पाएको दाबी गरे। 

फरक प्रसंगमा पुनले राष्ट्रियसभामा सातवटै प्रदेशहरुको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताए। 

ठूलो जनसंख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सभामा बराबर ८ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशहरुको स्वार्थको प्रतिनिधित्व गर्ने जनाए। 

‘राष्ट्रिय सभा प्रदेशहरुको समानुपातिक प्रतिनिधित्व भएको निकाय हो। प्रतिनिधिसभा जस्तो कार्यकारीको प्रभाव राष्ट्रिय सभामा पर्दैन’, पुनले भने, ‘बनोटले नै के बताउँछ भने राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहहरुको स्वार्थको प्रतिनिधित्व गर्छ।’

पुनले गठबन्धनका उम्मेदवारलाई जिताउन आफ्ना पार्टीका प्रदेशसभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिए। विगतका निर्वाचनमा भएका कमजोरी गठबन्धनमा आवद्ध कुनै पनि दलले नदोहो¥याउने विश्वास पनि उनले व्यक्त गरे।

राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ। 

बागमतीको चार सिटका लागि सत्ता गठबन्धनबाट काँग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .