ad ad

राजनीति


एमालेका माग नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एमालेका माग नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालखबर
माघ ९, २०८० मंगलबार १०:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन्।

मंगलबार बिहान नेकपा एमालेको प्रतिनिधिमण्डलको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउने आशा पनि व्यक्त गरे।

 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्पयात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।

प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया पनि दिए।

उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकांक्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताएका थिए। साथै ध्यानाकर्षणपत्रमा उल्लिखित मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे।

प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीका साथै अन्य पदाधिकारी तथा नेताहरू उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .