ad ad

राजनीति


आफ्नै ससुरा राष्ट्रिय सभामा उम्मेदवार हुँदा रवि रमिते मात्र

आफ्नै ससुरा राष्ट्रिय सभामा उम्मेदवार हुँदा रवि रमिते मात्र

नेपालखबर
माघ ९, २०८० मंगलबार १४:२३, काठमाडौँ

राप्रपाले कोसी प्रदेशबाट राष्ट्रिय सभामा उद्धव पौडेललाई उम्मेदवार बनाएको छ। 

पौडेलका पक्षमा संसदको दोस्रो ठूलो शक्ति नेकपा एमाले उभिएको छ। यसैका निम्ति एमालेका अध्यक्ष केपी शर्मा ओली आफै कोसी जाँदै छन्। 

सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता कृष्ण सिटौला मैदानमा छन्। उनलाई जसरी पनि हराउने योजनासहित विपक्षी एमाले र राप्रपाबीच तालमेल भएको देखिन्छ।

तर पौडेलका ज्वाइँ रवि लामिछाने भने आफ्ना ससुराका पक्षमा केही गर्न सक्ने अवस्थामा छैनन्। 

लामिछाने संघीय संंसदमा चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्छन्। उनीसँग संघीय संसदमा २१ सांसद छन्। प्रतिनिधि सभाको उपसभामुख उनकै पार्टीबाट निर्वाचित इन्दिरा राना छिन्।

तर, प्रदेश र स्थानीय तहमा रास्वपाको प्रतिनिधित्व छैन।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष मतदाता रहन्छन्। उनीहरूको मतभार भने फरक हुन्छ।

स्थानीय तहको निर्वाचन हुँदा उनको पार्टी नै गठन भएको थिएन। प्रदेश सभाको निर्वाचनमा सहभागी हुन आवश्यक प्रक्रिया पुर्‍याउन नसक्दा प्रतिनिधित्वविहीन हुन पुगेको हो।

यद्यपि रास्वपाले प्रदेश सभाको औचित्यमाथि पनि प्रश्न उठाइरहेको छ।

राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ ११ गते मतदान हुँदै छ।  

लामिछाने र पौडेल फरक पार्टीमा छन्। त्यसैले लामिछानेबाट पौडेलले सहयोग पाउनैपर्थ्यो भन्ने होइन। तर, रास्वपा र राप्रपा दुवै प्रतिपक्षमा भएका दल हुन्। अझ गत वर्ष प्रतिनिधि सभा निर्वाचनपछि सरकार बनाउँदादेखि अरू विभिन्न राजनीतिक घटनामा एमाले र रास्वपा एक ठाउँमा उभिएका छन्। तर प्रमुख प्रतिपक्षी एमालेले लामिछानेका ससुरालाई साथ दिँदा स्वयं लामिछाने भने रमिते मात्र भएर बस्नुपर्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .