ad ad

राजनीति


माओवादीलाई कोसीमा चोट, राष्ट्रिय सभामा ठूलो दल बन्दा राहत

माओवादीलाई कोसीमा चोट, राष्ट्रिय सभामा ठूलो दल बन्दा राहत

नेपालखबर
माघ ११, २०८० बिहिबार १८:३०, काठमाडौँ

आगामी २० फागुनदेखि माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्ने पक्का भएको छ। बिहीबार १९ सिटका लागि भएको निर्वाचनमा ५ सिटमा विजय प्राप्त गरेलगत्तै माओवादी केन्द्र फागुनपछि माथिल्लो सदनमा सबैभन्दा ठूलो दल बन्ने पक्का भएको हो। 

अहिलेसम्म राष्ट्रिय सभामा माओवादी केन्द्रका १६ सदस्य छन्। तर, २० फागुनमा विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरासहित तीनजनाको पदावधि सकिँदैछ। 

त्यसो हुँदा अहिलेको राष्ट्रिय सभामा सो पार्टीका सांसदहरुको संख्या १३ मात्र हुनेछ। 

तर, बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रले ५ सिटमा विजय हासिल गरेको छ। सत्ता गठबन्धनबाट उम्मेदवारी पाएको कोसीको महिलातर्फको सिट गुमाए पनि बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदुर पश्चिम प्रदेशमा रेणु चन्द विजयी भएका छन्।
 
यस हिसाबले २० फागुनपछि राष्ट्रिय सभामा माओवादी केन्द्रको सिटसंख्या १८ पुग्नेछ। 

अहिलेसम्म राष्ट्रिय सभामा एमालेको सिट संख्या १७ छ। २० फागुनपछि भने एमालेका ८ सांसदको पदावधि समाप्त हुनेछ। तर, बिहीबार भएको निर्वाचनमा एमालेका एक उम्मेदवारले विजय हासिल गरेका छन्। 

त्यसैले, २० फागुनपछि राष्ट्रिय सभामा उसको स्थान १० मात्र हुनेछ। 

नेपाली कांग्रेस अहिलेसम्म राष्ट्रिय सभामा १० सिट सहित तेस्रो स्थानमा छ। तर, २० फागुनपछि उसका ४ सांसदको पदावधि समाप्त हुनेछ। त्यसो हुँदा कांग्रेस ६ सिटमा झर्नेछ। 

बिहीबारको निर्वाचनमा कांग्रेसका १० उम्मेदवारले विजय हासिल गरेका छन्। यो संख्या जोडिँदा राष्ट्रिय सभामा उसको सिट संख्या १६ मात्र हुनेछ। अर्थात् माओवादी केन्द्रपछि राष्ट्रिय सभामा दोस्रो ठूलो दलको हैसियतमा नेपाली कांग्रेस रहनेछ। 

१० सिटसहित एमाले राष्ट्रिय सभामा तेस्रो ठूलो दलको हैसियतमा रहनेछ। त्यसपछि चौथो स्थानमा रहनेछ– एकीकृत समाजवादी, जसको राष्ट्रिय सभामा ८ सिट रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .