ad ad

राजनीति


कोसीमा सत्ता गठबन्धनलाई एमालेको तेस्रो ‘चक्मा’

कांग्रेसको कोइराला पक्षको भोट एमालेकी कोइरालालाई
कोसीमा सत्ता गठबन्धनलाई एमालेको तेस्रो ‘चक्मा’

नेपालखबर
माघ ११, २०८० बिहिबार १९:४३, काठमाडौँ

आफ्नो तर्फबाट खाली हुने राष्ट्रिय सभाका ८ मध्ये ७ सिट गुमाए पनि कोसी प्रदेशको महिलातर्फको सिटमा एमाले आश्चर्यजनक जित निकाल्न सफल भएको छ। 

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै राप्रपाको समर्थनप्राप्त एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन्। 

चक्मा १ 
कोसी प्रदेशले सत्ता गठबन्धनलाई चक्मा दिएको यो तेस्रो पटक हो। दुई वर्षअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि कोसी प्रदेशले सत्ता गठबन्धनलाई यस्तै ‘चक्मा’ र एमालेलाई ‘राहत’ दिएको थियो। 

दुई वर्षअघिको निर्वाचनमा पनि कोसी प्रदेशमा सत्ता गठबन्धन मतभारका दृष्टिले मजबुत स्थितिमा थियो। त्यसका बाबजुद अल्पसंख्यकतर्फको सिटमा सत्ता गठबन्धनका उम्मेदवार हेमराज राईलाई पराजित गर्दै एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भए। 

त्यो निर्वाचनमा विजयी एमालेका शेर्पाले ४,७७२ मतभार प्राप्त गरेका थिए भने पराजित राईको पोल्टामा ४,३८६ मतभार परेको थियो। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राई अहिले एमालेमा छन्।  

त्यो निर्वाचनमा खुलातर्फको सिटमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत र एमालेका गुरुप्रसाद बरालले बराबर ४,४८८ मत प्राप्त गरेका थिए। मतभारका दृष्टिले सत्ता गठबन्धन बलियो भएपनि यो सिटमा पनि एमाले उम्मेदवार बरालले कांग्रेस उम्मेदवार बस्नेतको बराबरी मत प्राप्त गरेका थिए।

बराबरी मतका कारण दुवै उम्मेदवारबीच गोला हालेर विजयी उम्मेदवार छुट्ट्याइएको थियो। गोलाप्रथाबाट कांग्रेस उम्मेदवार बस्नेत विजयी भएका थिए। 

चक्मा २
कोसी प्रदेशले दोस्रो पटक गत असोजमा गठबन्धनलाई चक्मा दियो, मुख्यमन्त्री चयनका क्रममा। 

विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका थिए। कार्कीको राजीनामापछि सत्ता गठबन्धनको बैठकले कोसी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो। 

यही निर्णय बमोजिम माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बो बहुमत पुर्‍याउने तयारी गर्दै थिए। तर, ४० सिटसहित कोसीमा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको एमालेको समर्थनसहित संविधानको धारा १६८ (५) बमोजिम कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री पदको दाबी गरिदिए। 

सो धारा अनुसार प्रदेश सभाका कुनै सांसदले बहुमत पुर्‍याएर मुख्यमन्त्री पद दाबी गर्न सक्छ। 

९३ सदस्यीय प्रदेश सभामा कांग्रेस सांसद कार्कीको पक्षमा बहुमत देखिएपछि २७ असोजमा प्रदेश प्रमुख परशुराम खापुङले उनैलाई मुख्यमन्त्री पदमा नियुक्त गरे। 

कार्की कांग्रेसभित्रको इतर डा. शेखर कोइराला समूहका नेता हुन्। 

एमालेले कोइराला पक्षलाई समर्थन गरिदिँदा मुख्यमन्त्री चयनका सन्दर्भमा सत्ता गठबन्धनले दोस्रो पटक ‘चक्मा’ पायो। र, यो घटना नै तेस्रो ‘चक्मा’ को आधार बन्यो। 

अर्थात् मुख्यमन्त्री चयनका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले जुन ढोक्सा थापेका थिए, त्यसमा अहिले राष्ट्रिय सभाको एक सिट परेको छ।  

चक्मा ३
सत्ता गठबन्धनमा भागबण्डाको क्रममा नेपाली कांग्रेसले ७ मध्ये ४ प्रदेशको मुख्यमन्त्री पद पाएको थियो। तर, सभापति देउवाले शेखर पक्षलाई एउटा पनि प्रदेशमा मुख्यमन्त्रीको जिम्मेवारी दिएनन्। 

त्यसबाहेक संघीय मन्त्रिमण्डलको बाँडफाँटमा पनि कोइराला पक्ष सभापति देउवासँग असन्तुष्ट थियो। 

कांग्रेसभित्रको यही असन्तुष्टिलाई एमालेले मुख्यमन्त्री चयनमा कुशलतापूर्वक उपयोग गर्‍यो। प्रदेश सभामा ४० सिट रहेको एमालेले डा. कोइराला पक्षीय कार्कीलाई मुख्यमन्त्री बनाउनेगरी हस्ताक्षर गरिदियो। कांग्रेसका सात र एमालेका ४० सदस्यको समर्थन पाएपछि कार्की सहजै मुख्यमन्त्री बने। 

मुख्यमन्त्री चयनमा रहेको एमाले र कोइरालापक्षको यो समझदारी मन्त्रिमण्डल विस्तारको क्रममा भने कायम रहन सकेन। माओवादी, एकीकृत समाजवादीलाई मन्त्रिमण्डलमा सहभागी गराउने भएपछि एमाले कार्की नेतृत्वको सरकारबाट बाहिरियो। 

यति हुँदाहुँदै पनि कार्कीलाई मुख्यमन्त्री बनाउन आफूले लगाएको गुन डा. कोइराला पक्षले कुनै न कुनै हिसाबले तिर्छ भन्ने विश्वास एमाले पंक्तिमा थियो। 

त्यतिबेला लगाएको गुन राष्ट्रिय सभाको यो निर्वाचनमा डा. कोइराला–कार्की पक्षले राम्रैसँग तिरेको छ। त्यही गुनका कारण मतभारका दृष्टिले कमजोर एमाले उम्मेदवार रुक्मिणी कोइरालाले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी छन्।

जबकि कोसी प्रदेशमा खुलातर्फको सिटमा भने कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन्। 

डा. कोइराला–कार्की पक्षकै मतका कारण एमालेकी कोइराला विजयी भएकी हुन् भन्ने कुरा माओवादीकी कार्कीको पराजय र कांग्रेसका सिटौलाको विजयले पुष्टि गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .