राष्ट्रिय सभा सदस्य निर्वाचित नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफू राष्ट्रिय राजनीतिमा खडा हुन खोज्दा सधैँ घेराउ गर्ने प्रवृत्ति बढेको बताएका छन्।
बिहीबार भएको मतदानको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले सोही प्रवृत्तिको असर गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी चम्पादेवी कार्कीमाथि परेको दाबी गरे।
‘म राष्ट्रिय राजनीतिमा खडा हुन्छु, मलाई घेराउ गर्ने प्रवृत्ति सधैँ हावी हुन्छ। यो राष्ट्रियसभा निर्वाचनमा पनि मलाई त्यो फिल भयो। सायद त्यही कारणले चम्पादेवीमाथि बढी प्रहार भयो जस्तो मलाई लाग्छ,’ सिटौलाले भने।
साथै, उनले एमाले कार्यकर्ताहरूले पार्टीको निर्णयप्रति विद्रोह गरेको जस्तो देखिएको पनि बताए।
‘मेरो मतपत्रमा एमालेका कार्यकर्ताहरू हाम्रो पार्टीको निर्णयप्रति विद्रोह हो कि जस्तो लाग्छ। अन्यथा हामी दुईवटा उस्तै उस्तै देखिन्छौँ,’ उनले भने।
कांग्रेस पार्टीभित्रकै केही नेताहरू तपाईंलाई जिताउन हुँदैन भनेर लागेको स्वीकार्नु हुन्छ? भनेर सोधेको प्रश्नमा उनले पार्टीले सर्वसम्मत निर्णय गरेको बताए।
साथै, कोशीमा बिहीबार भएको मतदानको विषयलाई अहिले नै विश्लेषण नगर्ने बताए।
‘मलाई पार्टीले सर्वसम्मत निर्णय गरेको छ। अहिलेका प्रदेशसभा सदस्यको भोटिङको विषयलाई म विष्लेषण गर्न चाहन्नँ,’ उनले भने, ‘कहाँनिर बिग्रिएको छ, भविष्यमा गठबन्धनका साथीहरूले छलफल गर्नुहुन्छ।’
Shares
प्रतिक्रिया